Sunday 14 December 2014

भारतीय कोठीमा नेपालका कलिला किशोरी

 धनगढी :भारतका वेश्यालयमा कलिला उमेरका किशोरीको माग बढेपछि दलालले बेचबिखनको तरिका परिवर्तन गर्न थालेका छन्। पहिलापहिला सीमा क्षेत्रमा रिक्सा, टाँगा, साइकल र मोटरसाइकलमा चेलीलाई बसाएर सीमा कटाउने गरेकोमा अहिले दलालहरूले नजानिँदो तरिकाले बेचबिखनको तरिका परिवर्तन गरेका छन्।

'अहिले कलिला उमेरसमूहका किशोरीको बढी बेचबिखन भइरहेको छ', माइती नेपालका कैलाली संयोजक शिवचरण चौधरीले भने, 'भारतबाट कलिला किशोरीको बढी माग आएको सुनिएको छ।' उनले कम उमेरका किशोरीलाई लोभ्याएर लैजान सजिलो हुने र भारतका वेश्यालयमा पनि राम्रो रकम पाउने भएकाले यस्तो गरिएको हुनसक्ने बताए।

'सामान्य लेखपढ गरेका किशोरीलाई विवाह वा जागिरको प्रलोभनमा पार्न सकिने भएकाले पनि यस्तो उमेरसमूहका चेलीको बेचबिखन बढेको हो', चौधरीले भने।

उक्त संस्थाले भारतको बिहारबाट मात्रै दुई साताअघि चारजना कम उमेरका किशोरीको उद्धार गरेको छ। 'भारतको बिहारमा १७ वर्षकी किशोरी गर्भवती रहेको अवस्थामा उद्धार गरेका छौं। अरू पनि धेरै कम उमेरमै भारतमा बेचिएका युवती त्यस क्षेत्रमा रहेको जानकारी आएको छ', चौधरीले भने।

कैलालीको सुखडबाट बालविवाह गरी भारतको रत्नागिरि गइरहेको एक जोडीलाई पनि माइती नेपालले नियन्त्रणमा लिएको छ। भाइबहिनी हौं भनेर माइती नेपालको बिटमा झुटो बोलेका उनीहरूले नेपालकै कञ्चनपुरमा रहेका दिदीभिनाजुलाई भेट्न हिँडेको बताएका थिए। उनीहरू भारत जान लागेको जानकारी पाएपछि आफन्तलाई बुझाइएको माइती नेपालकी स्वयंसेविका हीरा सार्कीले बताइन्। उनले पनि अहिले कम उमेरका युवती बेचबिखनमा परेको जानकारी दिइन्।

माइती नेपालले सन् २०१४ को जनवरीदेखि हालसम्म भारतमै गएर र सीमा क्षेत्रबाट उद्धार गरेका ९४ जनामध्ये आधाभन्दा बढी २० वर्षमुनिका किशोरी र युवती रहेको चौधरीले बताए।

पश्चिमी सीमा क्षेत्रमा कार्यरत आधा दर्जन संघसंस्थाले अहिले दलालले बेचबिखनको शैली फेरेको बताएका छन्। 'केहीले विवाहपछि हनिमुन गएजस्तो गर्ने गरेको, कतिपयले पारिवारिक यात्राजस्तो बनाएर पनि जाने गरेको पाइएको छ।

हामीले यस्ता दुईतीन जोडीलाई सीमा क्षेत्रबाटै फिर्ता गरेका छौं', कैलालीको त्रिगर सीमा नाकामा कार्यरत केआई नेपालकी बोर्डर इन्चार्ज जितमाया तामाङले भनिन्। उनले नाता पर्नेहरूबाटै युवती र किशोरी बेचबिखनमा परेको बताइन्। 'काका वा नजिकको नातेदारले पनि काममा लगाइदिने भन्दै युवतीलाई भारत लाने गर्छन्। त्यहाँ बेचबिखनमा परेको उनीहरूलाई पत्तो हुँदैन। धेरै नातेदार यस्तो काममै लागेको पाइएको छ', तामाङले भनिन्।

महिला बेचबिखनविरुद्ध कार्यरत शान्ति पुनस्र्थापनागृहको तथ्यांकअनुसार अहिले पढेलेखेका युवती भारतमा मात्रै नभएर भारतको बाटो हुँदै तेस्रो मुलुकमा पनि बेचबिखनमा पर्न थालेका छन्। 'स्नातक तहमा पढिरहेका तीन युवतीलाई समातेर एक साताअघि आफन्तकोमा पठाएका छौं', गृहमा कार्यरत पार्वती चौधरीले भनिन्।

भारतमा कोठी चलाउनेहरूले कम उमेरका युवती खोज्ने, कम उमेरका युवतीको बढी मूल्य पाइने भएकाले पनि गाउँमा बालविवाहको बहाना गरेर चेली बेचबिखन भइरहेको रोकथाममा खटिएका संघसंस्थाले बताएका छन्।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID