Saturday 25 October 2014

अस्ट्रेलियामा नेपाली चिकित्सकबाट मृत मुटुको सफल प्रत्यारोपण

(एजेन्सीबाट)- सिड्नी : नेपाली चिकित्सक डा. कुमुद धितालले मृत मुटुको सफल शल्यक्रिया गरेर चिकित्सका क्षेत्रमा ठूलो सफलता हाँसिल गरेका छन् ।

अस्ट्रेलियाली शल्यचिकित्सकहरुसँगको सहकार्यमा डा. धिताले सो सफलता हाँसिल गरेका हुन् । धडकन बन्द भएको एउटा मुटु प्रतिस्थापन गर्ने शल्यक्रियामा चिकित्सकहरुले शुक्रबार  सफलता पाएको खबर इन्डिपेन्डेन्टले छापेको छ । यो सफलताले अङ्ग दान गर्ने विधि परिवर्तन हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

हालसम्म चिकित्सकहरू मस्तिष्क मृत भइसकेको व्यक्तिको शरीरमा रहेको तर धड्कन कायम रहेको मुटुमा भर पर्ने गर्थे । कहिलेकाँही यस्ता मुटुलाई बरफमा राखिन्थ्यो तथा बिरामी भएको स्थानतर्फ लगिन्थ्यो ।

सिड्नीको सेन्ट भिनसेन्ट अस्पताल तथा भिक्टर चाङ कार्डिक रिसर्च इन्स्टिच्युटले २० मिनेट बन्द भएको मुटुमा पुनः धडकन सञ्चालन गर्न सकिने र त्यसलाई बिरामीमा प्रतिस्थापन गर्न सकिने विधि विकास भएको जानकारी दिएको खबर द अस्ट्रेलियन ले पनि प्राथमिकताका साथ छापेको छ । 

यस विधिअनुसार हालसम्म तीन बिरामीमा मुटु प्रतिस्थापन भइसकेको उनीहरू अझै जिउँदो रहेको जानकारी दिइएको खबर डेली मेलले पनि छापेको छ । तेस्रा बिरामी हाल सघन उपचार कक्षमा रहेका छन् ।

सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालयका सहप्राध्यापक डा. कुमुद धितालले यस प्रकारको शल्यक्रिया तीनजनामा मात्र गरिएको बताए ।

उनले दाताको मुटुलाई अन्यत्र लैजान सकिने ‘हार्ट इन अ बक्स’ (एउटा बाकसमा मुटु) नामक मेसिनमा संरक्षणका लागि तयार गरिएको घोलमा न्यानोरूपमा राखिने र त्यसलाई अन्यत्र लैजान सकिने बताए ।

उनले हालसम्म तीन भिन्न अस्पतालबाट ल्याइएको मुटु बिरामीमा प्रतिस्थापन गरिएको बताए । यस अवधिमा यी मुटुलाई पाँचदेखि आठ घण्टासम्म धडकन सञ्चालन हुने अवस्थामा राखिएको थियो ।

सेन्ट भिनसेन्टको हार्ट ट्रान्सप्लान्ट युनिटका चिकित्सा निर्देशक पिटर म्याकडोनाल्डले सन् १९६० मा पहिलोपटक मुटुको शल्यक्रिया गर्दा पनि धड्कन चल्न छोडेको मुटुको प्रतिस्थापन भएको हुनसक्ने बताए । यसपछि तीन बालबालिकामा यस प्रकारको शल्यक्रिया गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID