Sunday 28 September 2014

हामीले २ अर्ब दिन नसकेकाले नन्दप्रसादको अनसन तोडाउन सकियन : गृहमन्त्री गौतम

सरकारले ‘दुई अर्ब दिन सकेको भए अनसन तोडेर नन्दप्रसाद बाँच्थे होला तर, हामीले दिन सकेनौं ।’ गृहमन्त्री गौतमले भने ।  
१२ असोज, काठमाडौं । संसदको समाजिक न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री गौतमले अधिकारी दम्पत्तिले २ अर्ब क्षतिपूर्ति मागेको र नदिएका कारण अनसन जारी राख्दा उनको मृत्यु भएको बताए । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले नन्दप्रसाद अधिकारीले अनसन तोड्न सरकारसँग २ अर्ब रुपैयाँ मागेको खुलासा गरेका छन् ।

मृत्यु हुनु एक दिन अघि पनि सरकारले अनसन तोड्न आग्रह गरेको तर, नन्दप्रसादले नमानेको उनले बताए ।छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा बसेका नन्दप्रसादको केही दिनअघि निधन भएको थियो । अनसनरत उनकी पत्नी गंगामायाको अवस्था गम्भीर छ ।
वीर अस्पतालमा उपचारका क्रममा नन्दप्रसाद अधिकारी ।
गृहमन्त्री गौतमले कृष्णप्रसाद हत्या प्रकरणमा दुई अभियुक्त मध्ये एक द्वन्द्वकालमै मारिएको र रुद्र आचार्य बेलायतमा रहेको बताए । रुद्रलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पनि कोसिस गरिएको तर, प्रक्रिया पूरा नगरेेको भनी बेलायतले जवाफ दिएको गौतमले समितिलाई बताए ।
प्रहरीले चितवन जिल्ला अदालतमा मुद्दा चलाएलगतै संसद अवरुद्ध भएको र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तत्कालीन जनसरकार प्रमुखको हैसियतमा आफूलाई कारबाही गर्न चुनौती दिएका कारण पनि सरकारलाई अप्ठेरो परेको उनले सुनाए ।

अझै उठेन शव
नन्दप्रसादको निधन भएको ६ दिन भइसक्यो । तर, उनको शव उठेको छैन ।  ६ गते साँझ निधन भएपछि उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको थियो । तर, उनका छोरा नूरप्रसादले बाबुको शव उठाउन अस्वीकार गर्दै आएका छन् ।
न्याय दिलाउन निरन्तरत प्रयास गरेको तर अटेर गरेर अनसन बसिरहेका कारण दुःखद घटना भएको गौतमको दावी छ । ‘औषधीको रुपमा सबै खुवाइयो । जो निकै महंगा थिए । तर, नाशाबाट रगतमा गए पनि शरीरमा पुगेन । शरीरका अंगहरु निश्कृय हुँदै गए’-गौतमले भने ।
प्रचण्डले पनि भेटेका थिए नन्दप्रसादलाई
अनसन तोडाउने प्रयासमा पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्डले समेत अधिकारी दम्पत्तिलाई भेटेको गौतमले जानकारी दिए । उनले भने-‘प्रचण्डलाई देखेर मुख छाडेर गाली गर्न थाले । अनसन तोड्न मानेनन् । प्रधानमन्त्री सुशील कोइराला र म गएर पनि सम्झाउने प्रयास गरेका थियौं ।’
गृहमन्त्री गौतमले द्वन्द्वकालमा भएका केही गम्भीर प्रकृतिका घटनामा कारबाही गर्न एमाओवादी पनि तयार रहेको बताए। यसका लागि छिटो सत्य निरुपण र बेपत्ता छानविन आयोग बनाउनु पर्ने उनको जोड थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID