Tuesday 21 January 2014

थ्रीडीले तान्यो धेरैको ध्यान

भक्तपुरमा माटोको भाँडा बनाइरहेका दृश्य तपाईं–हामीबीच अनौठा होइनन्। त्यही दृश्य विदेशीका लागि निकै चाखलाग्दा हुन्छन्। कुमालेले माटोबाट भाँडा बनाएजस्तै प्रिन्टिङ मेसिनबाट यस्ता वस्तुले आकार लिइरहेको देख्दा तपाईं अचम्ममा नपर्ने दिन आउँदै छ।

यतिखेर अमेरिकामा विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक मेला चलिरहेको छ। संसारकै सबैभन्दा ठूलो आकारको टेलिभिजनदेखि प्रविधिका पछिल्ला प्रयोगका लागि मेला चर्चित छ। तर, धेरैको ध्यान भने यस्तै खाले थ्रीडी प्रिन्टिङले तानिरहेको छ।
भविष्यमा तपाईंलाई मनलाग्दो जुत्ता, चस्माको फ्रेम, खेलौना वा अन्य यस्तै साधन घरमा नै तयार पार्नसक्नुहुन्छ। डकुमेन्ट प्रिन्ट गरेजस्तै आफ्नो आवश्यकताका सामान घरमा तयार बनाउन सकिने प्रविधिले भविष्यलाई अझ रहस्यमयी बनाउँँदै लैजाने तर्क प्रविधि विश्लेषकहरूको छ। 
यो प्रविधिलाई मानिसले गीत सुन्नका लागि जसरी आई–ट्युनले काम गर्योर, त्यसरी नै काम गर्ने दाबी गर्न थालेका छन्। एक दशकभित्र थ्रीडी प्रिन्टरहरू मानिसका घरमा सामान्य प्रविधिका रूपमा स्थापित भइसक्ने दाबी गरिएको छ। र, मानिसहरू आफ्नै घरमा आफूलाई चाहिने जुत्ता, बेल्ट र अन्य एक्सेसरिजहरू प्रिन्ट गरिरहेका हुनेछन्। यी सामान किन्न उनीहरूलाई अब कुनै स्टोरसम्म धाइरहनु पर्ने छैन। यतिसम्म कि घरमा रेफ्रिजेरेटर रहेजस्तै थ्रीडी प्रिन्टर देखिने दाबीसमेत गरिएको छ। 

थ्रीडी प्रिन्टको इतिहास करिब २५ वर्ष पुरानो भए पनि प्रिन्टिङ प्रविधिसम्म आइपुग्दा यसको मूल्यमा धेरै कटौती भइसकेको छ। यसको लोकप्रियता जुन रफ्तारमा बढेको छ, यसको लागत पनि त्यही अनुपातमा घटिरहेको छ। त्यसैले व्यवसायी, कलाकार या जो कसैका लागि पनि यो प्रविधि आवश्यक हुन सक्छ। 
यो प्रिन्टरमा बायोडिग्रेडेबल प्लास्टिक लेयर प्रयोग हुन्छ, जसले प्रिन्ट दिँदा जुनसुकै स्वरूपमा पनि आफूलाई ढाल्छ। तातो प्लेटहरूबाट खोजेको स्वरूपमा यसले प्रिन्ट दिने भएकाले व्यवसाय गर्नेले यसबाट बढी फाइदा लिन सक्छ। 
'यसलाई कुनै माइक्रोस्कोपिक ब्रिक र त्यसको लेयरको रूपमा बुझ्नुस्,' सिंगापुरमा आधारित पाइरेट थ्रीडीका प्रमुख कार्यकारी अधिकृत रोजर चेन्जले सुनाए, 'जसरी इँटाहरू मिलाउँदै घर तयार हुन्छ, त्यसरी नै यो यसका ब्रिक र लेयरले खोजेको सामान बनाउँछ।' यो कम्पनीले ४ सय ९७ डलरमा बुक्यानर होम प्रिन्टर बिक्री थालिसकेको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID