Thursday 11 July 2013

राजधानीमै नक्कली डाक्टर !


राजधानीमै लामो समयदेखि गैरकानुनी रुपमा नक्कली डाक्टरले बिरामीको उपचार गरिरहेको फेला परेको छ । योग्यता नै नभएका र कुनै चिकित्सकीय तालिम पनि नलिएका व्यक्तिले दर्ता नै नभएका संस्थाबाट विशेषज्ञ चिकित्सकले गर्ने उपचारजस्तै सेवा दिइरहेको फेला परेको हो ।

बिरामीको उपचार गर्ने योग्यता नै नभएका व्यक्तिले ‘नक्कली डाक्टर’ का रुपमा गैरकानुनी संस्थाबाट बिरामीको उपचार गरिरहेकेा फेला परेपछि सरकारले ती नक्कली डाक्टरलाई अनुसन्धानको घेरामा राखेको छ भने कानुनविपरीत सञ्चालन गरेकेा उपचार केन्द्र बन्द गराएको छ ।

बिरामीको उपचार गर्न कम्तीमा पनि एमबिबिएस तहको पढाई सकेर नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिएको वा आयुर्वेद क्षेत्रको हो भने वैद्य वा कविराज तहको अध्ययन गरेको हुनुपर्छ ।

तर, राजधानीको सीतापाइलास्थित सीतापाइला आयुर्वेदिक तथा जन्डिस उपचार केन्द्रका रामप्रसाद महर्जन र सीतापाईला जन्डिस केयर सेन्टरका रामबहादुर महर्जनले नक्कली डाक्टरका रुपमा बिनायोग्यता जन्डिस, ग्यास्टि्रक र पिनासको विशेषज्ञ उपचार गर्दै आइरहेकेा वाणिज्य तथा आपूर्ति विभाग र औषधि व्यवस्था विभागको टोलीले मंगलबार फेला पारेको नागरिक दैनिकमा खबर छ ।

टोलीले तत्कालै गैरकानुनी संस्थालाई बन्द गरेको र अनुमानका भरमा विरामी उपचारमा संलग्न व्यक्तिलाई अनुसन्धानको घेरामा राखेको औषधी व्यवस्था विभागका निरीषक पदम पौडेलले बताए । उनका अनुसार विभागले उनीहरुलाई तीनदिनभित्र आवश्यक कागजातसहित उपस्थित हुनसमेत निर्देशन दिएको छ । गैरकाुनुी सेन्टरलाई आवश्यक प्रक्रिया पुरा गरेमा र सेन्टरमा योग्यतामा पुगेको व्यक्ति राखेमा पुनः खोल्न दिन सकिने उनको भनाई छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले काउन्सिलको अनुमति र प्रमाणपत्रबिना उपचारमा संलग्न व्यक्तिलाई सोझै समातेर जेल हाल्न सकिने बताए । ‘काउन्सिलको प्रमाण र अनुमति नपाएका मानिसले कुनै पनि हालतमा बिरामीको उपचारमा संलग्न हुन पाउँदैन्,’ उनले भने, ‘यस्ता कार्यमा संलग्नलाई सिधै प्रहरीले समात्न सक्ने कानुनी व्यवस्था छ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID