Monday 17 June 2013

महाकालीले १० सरकारीसहित ५० घर बगायो, नदी अझै उर्लिँदै

भारतीय पक्षको ड्याम खोलेकाले समस्या : प्रजिअ

३ असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलंगा १० बटा सरकारी कार्यालयसहित झण्डै ५० घर टहरा बगाएको छ । सोमबार दिउँसोसम्म भारतले बाँध खोलेपछि नदीमा पानीको बहाब बढेको छ भने क्षति बढेको छ । ‘पानी परिराखेको छ । नदी बढ्यो भन्ने छ’ प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले भन्नुभयो-’भारतीय पक्षको ड्याम खोलेकाले समस्या आएको छ ।’

केही दिनदेखिको अविरल वर्षाका कारण आइतबार मध्यरातमा महाकाली नदीमा पानीको सतह बढेपछि कटान सुरु भएको थियो । सोमबार साँझसम्ममा १० बटा सरकारी कार्यालय, २५ बटा पक्की घर र सुकुम्बासी बस्तीको १७ बटा टहरा बगाएको प्रजिअ अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बाढीले जिल्ला अस्पताल र विद्युत गृह बगाएको छ भने जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमको कार्यालयको आधा भाग बाढीले बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ । दर्जनौं घरहरु कटानको जोखिममा रहेका छन् ।

जोखिममा परेका घरहरुबाट धनमाल तथा सामानहरु सुरक्षित स्थानमा सार्न तैनाथ गुल्मबाट ८१ जनाको टुकडीसँगै प्रहरी र सशस्त्र खटिएका छन् । ५ सय जतिलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु मध्ये केही आफन्तकोमा गएका छन् भने धेरैलाई विद्यालय र क्याम्पसहरुमा राखिएको छ । अस्पतालबाट विरामी एवं बेडहरु लगायत औषधी र उपकरणहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सरकारी कार्यालयका महत्वपूर्ण सामान तथा कागजातहरु समेत सुरक्षित स्थानमा सारिसकेको छ ।

त्यसैगरी बाढीले गल्फैदेखि नमस्कार भन्ने ठाउँसम्मको भू-भागमा तिब्र कटान गरिरहेको छ । बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ । बाढी प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुदूर पश्चिममा तयारी हालतमा राखिएको छ । केन्द्रमा रहेको हेलिकप्टर तथा उद्धार कार्य गर्ने दक्ष जनशक्ति तयारी हालतमा रहेतापनि प्रतिकुल मौसमको कारणले हाल उक्त स्थानमा पठाउन कठिनाई भएको सेनाले जनाएको छ ।

बाँध पूरै नखोल्न भारतलाई परराष्ट्रको दबाब

महाकालीको बाढी दार्चुला सदरमुकाममा पसिरहेका बेला भारतले खलंलाभन्दा उत्तरमा रहेको धौलीगंगा जलविद्युतको बाँध खोल्ने जानकारी दिएपछि काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । स्थानीय नेपाली सेना र स्थानीय प्रशासनले भारतको बाँध खोल्ने तयारी रोक्न मन्त्रालयमा आग्रह गरेपछि परारष्ट्र मन्त्रालायले बाँध पूरै नखोल्न र खोल्नै परे आंशिकरुपमा मात्रै खोल्न भारतलाई आग्रह गरेको छ । यद्यपि भारतले आंशिक रुपमा मात्रै बाँधको पानी खोलेको भए पनि त्यसले महाकालीमा पानीको बहाव बढ्न गई सोमबार अपरान्ह दार्चुला सदरमुकामका थप १८ घर बगेका छन् ।

भारतले बाँध फुट्ने र जलविद्युत आयोजनामा क्षती पुग्ने भन्दै खलंगाभन्दा माथिपटि्ट रहेको बाँध खोलिदिएपछि नदीमा पानीको बहाव बढेको हो । बाँधमा पानी भरिएपछि फुट्ने डरले आंशिक रुपमा बाँध खोलिएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दार्चुलाका प्रहरी नायब उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

सोमबार अपरान्ह चार बजेतिर भारतले बाँध खोलेको हो । भारतले दार्चुलाको स्थानीय प्रशासनलाई बाँध खोल्ने जानकारी गराएपछि आफुहरुले केन्द्रलाई जानकारी गराएको र परराष्ट्र मन्त्रालयको पहलमा भारतले आंसिक रुपमा मात्रै बाँध खोलेको निमित्त प्रमुख जिल्ला अधिकारी हर्कबहादुर सिंहले बताउनुभयो ।

एमाओवादी र एमालेको ध्यानाकर्षण

यसैबीच एमाओवादी र नेकपा एमालेले दार्चुला सदरमुकाम खलङ्गामा तत्काल उद्धार थाल्न माग गरेका छन् । एमाले सचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी तत्काल उद्धार कार्य गर्न र उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न सरकारसँग माग माग गर्नुभएको छ । यस्तै एमाओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर दार्चुलामा उद्दारमा जुट्न पार्टी कार्यकर्तालाई अपील गर्नु भएको छ ।

भारतमा पनि क्षति, गोर्खा पल्टनका १३ भवन बगे

पानीको बढ्दो बहावसंगै भारततर्फ पनि अहिले ठूलो क्षति पुर्‍याएको छ । भारतको धार्चुला नदी किनारमा अवस्थित गोर्खा पल्टनका १३ वटा भवन बगाएको छ । दिउँसो २ बजेसम्म भारततर्फ कुनै क्षति नभए पनि बाँध खोलेलगत्तै पानीको बहाव बढेपछि भारततिर पनि क्षति भएको हो ।

 तीर्थयात्रीसमेत फसे

यसैबीच कैलास मानसरोवर दर्शन गर्न गएका सयौं नेपाली तीर्थयात्रीहरु भारतको गब्र्याधार भन्ने ठाउँमा फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बिहानैदेखि सो क्षेत्रमा मुसलधारे पानी परिरहेको र अहिले विभिन्न ठाउँमा पहिरो जाँदा उनीहरु फसेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID