Friday 1 February 2013

सुरक्षा दृष्टिले एमाओवादी महाधिवेशन ‘उच्च जोखिम’मा

१८ माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीले शनिबारदेखि हेटौडामा हुने आफ्नो सातौं महाधिवेशनमा सुरक्षाको दृष्टिले उच्च जोखिममा रहेको भन्दै सोहीअनुरुपको सुरक्षात्मक उपाय अवलम्बन गरेको छ ।

आपराधिक चलखेल हुने वीरगञ्ज नजिकै रहेको, भारतीय सीमाना धेरै टाढा नरहेको र एमाओवादी नेताहरुमाथि विगतमा पनि आक्रमण हुने गरेको भन्दै एमाओवादीले यो महाधिवेशनलाई अहिलेसम्मकै सबै कार्यक्रमहरुभन्दा ‘हाइ रिस्क’मा राखेको महाधिवेशन सुरक्षामा खटिएका वाइसीएल इञ्चार्जले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

एमाओवादीले महाधिवेशनको आन्तरिक एवं बाह्य सुरक्षाका लागि ४ वटा घेरामा १० हजार वाइसिएल खटाउने भएको छ । सुरक्षाको प्रत्यक्ष कमाण्ड पूर्वलडाकू कमाण्डर नन्दकिशोर पुन (पासाङ)ले सम्हाल्ने छन् भने फिल्ड कमाण्ड वाइसीएल कमाण्डर गणेशमान पुनले सम्हाल्ने छन् । त्यसैगरी महधिवेशन सुरक्षामा खटाइने दुई राज्य समितिको फोर्समध्ये ताम्सालिङको फोर्सको कमाण्ड युवराज दुलाल (शरद) र नेवा फोर्सको कमान्डिङ रामप्रसाद सापकोटा (दीपशिखा) ले गर्ने भएका छन् ।

कमाण्डर दीपशिखाका अनुसार विभिन्न चारवटा घेरामा १० हजार वाइसीएल खटाइने छ र महाधिवेशनपछि पनि वाइसीएललाई पुनर्जिवित गराई पार्टीको कार्यक्रममा कसैले आक्रमण गरे प्रतिवाद गरिनेछ ।

कमान्डर सापकोटाले अनलाइनखबरसँग भन्नुभयो, ‘ सुरक्षाका विभिन्न चारवटा घेरा हुनेछन् । महाधिवेशनभित्र दुईवटा र जिल्ला बाहिरसम्म अन्य दुईवटा सुरक्षा घेरा रहनेछन् । भारतीय नाका र जिल्ला प्रवेश गर्ने संवेदनशील नाकाहरुमा पनि वाइसिएल खटाइने छ । भारतीय नाकामा पनि फोर्स राखिन्छ । हेटौंडा आसपासका जिल्लामा समेत वाइसीएल एलर्टमा राखिन्छन् ।

प्रहरी र वाइसीएलवीच छलफल

महाधिवेशनको सुरक्षालाई लिएर बिहीबार हेटौडामा प्रहरी प्रमुख र वाइसीएल प्रमुखवीच सुरक्षासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठकमा प्रहरी तर्फबाट एएएसपी सर्वेन्द्र खनालसमेतको सहभागिता थियो ।

नेपाल प्रहरी तर्फबाट महाधिवेशन सुरक्षाका लागि ५ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । यसका लागि जिल्ला बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइने प्रहरीलाई उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

हलकै छेऊमा संयुक्त फोर्स राखिने

महाधिवेशनमा हुन सक्ने आक्रमण, आगलागी वा अन्य सम्भावित दुर्घटनालाई मध्यनजर गरी बन्दशत्र हलकै छेउमा आपतकालीन उद्धार फोर्स राखिने वाइसिएल नेता सापकोटाले अनलाइनखबरलाई बताउनुभयो । उद्धार फोर्समा वाइसीएल र प्रहरी दुवै तर्फको संयुक्त टोली रहने उहाँले बताउनुभयो ।

महाधिवेशनलाई सरक्षाको दृष्टिले ‘हाइ रिस्क’मा राखिए पनि बाह्य खतरालाई प्राथमिकता दिने उहाँले बताउनुभयो । भृकुटीमण्डपमा आयोजित विस्तारित बैठकमा जसरी बन्दशत्रभित्रै हात हालाहालको स्थिति आउन सक्ने खतरा कम रहेको सापकोटाको दाबी छ । ‘सबैतिर सहमतिका आधारमा प्रतिनिधिहरु चयन भएका छन्, राजनीतिक दस्तावेज पनि एउटै आउने भएको छ, त्यसैले आन्तरिक समस्या गौण विषय हो ।’ उहाँले भन्नुभयो ।

महाधिवेशन स्थलमा सरकारी अनुगमन

एमाओवादी महाधिवेशन शुरु हुने अघिल्लो दिन शुक्रबार दिउँसो सरक्षा अधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् । मध्यमाञ्चल क्षेत्रका नेपाल प्रहरीका डीआइजी, क्षेत्रीय प्रशासक, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखलगायतका सरकारी अधिकारीले महाधिवेशन स्थलको अनुगमन गरेर र्फकेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID