Friday 1 February 2013

प्रतिलिपि अधिकार चोर्नेलाई कैद, जरिवाना र क्षतिपूर्ति

काठमाडौ, माघ १९ - प्रतिलिपि अधिकार हनन गरी पुस्तक प्रकाशित गरेको आरोप लागेका दुई व्यक्तिलाई जिल्ला अदालत काठमाडौंले जनही १३ दिन कैद सजाय र दस हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । उनीहरूले पीडितहरूलाई डेढ लाख क्षतिपूर्तिसमेत दिनुपर्नेछ । जिल्ला न्यायाधीश नारायण पोख्रेलको इजलासले काठमाडौंको बागबजारस्थित एसपी प्रकाशनका प्रबन्धक प्रेमबहादुर अधिकारी र लेखक गणेश बुढाथोकीलाई प्रतिलिपि अधिकार हननको मुद्दामा दोषी ठहर गरेको हो ।

अधिकारी र बुढाथोकीविरुद्ध लेखक हरिभक्त बुढाथोकीले २०३२ देखि प्रकाशन गर्दै आएको 'ड्राइभिङ शिक्षा' नामक सवारी चालक परीक्षाको गाइड र 'ड्राइभिङ लाइसेन्स' नामको प्रश्नोत्तर संगालो पुस्तकको अंश हुबहु प्रकाशित गरी प्रतिलिपि अधिकारको हनन गरेको आरोप लगाएका थिए । आफ्नो पुस्तकको अंश हुबहु राखी प्रबन्धक अधिकारी तथा लेखक गणेशले 'ड्राइभिङ गुरु' नामक पुस्तक प्रकाशित गरेको उजुरीपछि प्रहरीले घटनाको छानबिन गरी दुवै जनाविरुद्ध मुद्दा दायर गरेको हो । आरोपित दुवै जना केही दिन थुनामा रही एक-एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । दुवैले तारिख गुजारेकाले धरौटीसमेत जफत हुने भएको छ ।

फैसलाको पूर्ण पाठ आउन बाँकी रहे पनि दुवै जनालाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ अनुसार कसुर ठहर भई क्षतिपूर्ति, कैद र जरिवानाको फैसला भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । 'वाषिर्क दसौं हजारप्रति बिक्ने पुस्तकको सबै अंश सारेर प्रतिलिपि अधिकार हनन गरेकाले मैले प्रहरीमा उजुरी दिएर मुद्दा दायर गर्नुपरेको हो,' पुस्तकका प्रकाशक चन्द्र बुढाथोकीले कान्तिपुरसित भने । २०३२ सालयता पुस्तकको तीसौं संस्करण बजारमा आइसकेको दाबी गर्ने उनले पुस्तक प्रकाशित हुनासाथ पुल्चोकस्थित नेपाल राष्ट्रिय पुस्तकालयमा दर्ता गरी आफ्नो प्रतिलिपि अधिकार सुरक्षित गरेको बताए । 'फैसलाले गैरकानुनी पुस्तक प्रकाशन र बिक्री-वितरण गर्नेहरूलाई हतोत्साहित बनाएको छ,' उनले भने ।

मुद्दा दायर भएलगत्तै जिल्ला अदालत काठमाडौंले एसपी प्रकाशनलाई 'ड्राइभिङ गुरु' पुस्तक प्रकाशन र बिक्री-वितरणमा रोक लगाएको थियो । अन्तिम किनारा नलागुन्जेल पुस्तक बिक्री-वितरण नगर्न प्रकाशन, बिक्रेता र वितरकका नाममा आदेश जारी गर्दै अदालतले स्टकमा रहेका पुस्तक बरामद गरी त्यसको विवरण सरकारी वकिलको कार्यालयमार्फत पठाउन समेत प्रहरीलाई आदेश दिएको थियो ।

मुख्य प्रकाशक बुढाथोकीको उजुरीपछि छानबिन गरेर महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिलिपि अधिकार हनन भएको आरोपमा १० लाख क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको थियो । दुवै पक्षबीच पटक-पटक सहमति र मिलापत्रको प्रयास सफल हुन नसकेपछि प्रहरी सरकारी वकिलमार्फत अदालत पुगेको हो । प्रतिलिपि अधिकारको मुद्दा सरकारवादी हुन्छ । आरोपित प्रकाशनका प्रबन्धक प्रेमबहादुर अधिकारीले आफूले तथ्यपरक ढंगले मौलिकरूपमा नै पुस्तक प्रकाशित गरेको दाबी गर्दै कसैको प्रतिलिपि अधिकार हनन नगरेको जिकिर गरेका थिए ।

सवारी चालकबारे सैद्धान्तिक विषयवस्तु रहेको 'ड्राइभिङ शिक्षा' पुस्तकका १५ शीर्षकहरू तलमाथि फेरबदल मात्रै गरेर 'ड्राइभिङ गुरु' पुस्तक प्रकाशित गरिएको थियो । एक सय ७८ पेजको पुस्तकमध्ये ८० पेज हुबहु सारिएको छानबिनका क्रममा भेटिएको थियो । प्रतिलिपि अधिकार संरक्षण ऐनमा लेखक वा प्रकाशनसँग सिर्जनाको प्रतिलिपि अधिकार सुरक्षित हुने र उनीहरूको अनुमतिबेगर अरूले सो सिर्जनाको पूर्ण भाग वा अंश अरूले 'कपी' गर्न नपाउने व्यवस्था छ । ऐनअनुसार स्रष्टा वा लेखक दिवंगत भएको ५० वर्षपछि प्रकाशित कृति राष्ट्रियकरण हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID