Sunday 27 January 2013

सुनिलले उडाए ‘हेलीकोप्टर’ (फोटो सहित)

एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए । ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।

शुरुमा एमाले उपाध्यक्ष वामदेव गौतमले रिमोर्ट ‘अन’ गरेर उद्घाटन गरेपछि आविस्कारक सुनीलले बाइनाकुलरजस्तै रिमोर्ट कन्ट्रोल घाँटीमा झुण्ड्याएर भुईंबाटै ‘हेलीकोप्टर’ आकाशमा उडाए । ‘क्वाडकोप्टर’ नाम दिइएको यो यानले आकाश चुमेपछि दुईवटा चील अचम्म मान्दै मेसिन छेउमा आउँदै भाग्दै गरेको दृश्य जमीनबाट निकै रोचक देखिएको थियो ।

यान आकाशमा केहीबेर उडेर पुनः पहिले राखिएकै टेबलमा ‘ल्याण्ड’ भएको थियो । ल्याण्ड हुने बेलामा साँच्चैको हेलीकोप्टरले जस्तै धूलोसमेत उडाएको थियो भने टेबलमा रहेको रातो कपडासमेत हावाले भुइँमा झारेको थियो । भित्री इञ्जिनजस्तै देखिने यो फुच्चे यानको छेऊमा प्लेनजस्तै आकारको काठले बनेको ढकनीसमेत राखिएको थियो ।

सुनीलले यान उढाउनुअघि एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले माइकबाट भन्नुभयो-’हाम्रो आन्दोलन दबाउन विगतमा ज्ञानेन्द्रले हेलिकोप्टर उडाए । अहिले बाबुारमले दैलेखमा जनतालाई दमन गर्न हेलिकोप्टर उडाए । अब जनताको हेलीकोप्टर उड्ने छ र अब यसले बल्खुको आकाशबाट एमालेको कार्यक्रम निरीक्षण गर्ने छ ।’

‘हेलीकोप्टर’ टेबलमा फर्किसकेपछि तुलाधरले फेरि भन्नुभयो- ‘ पढेको मान्छेले त यस्तो काम पो गर्नुपर्छ । बाबुरामले त डाक्टर पढेको रे तर बन्दूक बोक्नमात्रै जाने । त्यस्तो पढाइ के पढाइ ?’

आकासमा उडेको चिललाई पछ्याउँदै क्वाडकोप्टर

आविस्कारक युवा के भन्छन् ?

आइतबार बल्खुमा उडाइएको क्वाडकोप्टरमा एउटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको थियो भने मोटर र पंखा ४/४ बटा थिए । सानो आकारको सामान्य यान बनाउन न्यूनतम १५/१६ हजार खर्च लाग्ने सुनील बताउँछन् । मान्छे बस्न मिल्ने पनि बनाउन सकिने तर, अलि बढी खर्च लाग्ने उनको भनाइ छ ।

‘क्वाडकोप्टर’ उडाउने युवा सुनील महर्जन ललितपुरको बालकुमारीमा आफ्नो परिवारले सञ्चालन गरेको हेन्डीक्राफ्ट पसलमा काम गर्छन् । ०३७ साल असारमा जन्मिएका सुनीललेसेन्ट जेभियर्स र ललितपुरकै सगरमाथा स्कुलबाट माध्यमिक तह पार गरेका हुन् । उनले व्यवस्थापनमा १२ कक्षासम्म पढेका छन् ।

सानैदेखि विज्ञानप्रति रुची भएकाले ८/१० वर्ष अघि नै यस्तो मेसिन आकाशमा उडाएको उनले अनलाइनखबरलाई बताए । ‘घरमा ५/७ वटा अझै छन्, केही क्र्यास भए । धेरैवर्ष अघि यस्तो आविस्कार गरिसकेको भए पनि द्वन्द्वका बेला अप्ठ्यारो पर्ने डरले बाहिर आउन सकिँन ।’ महर्जनले भने-’यसमा क्यामेर राखेर आकाशबाट भिडियो खिच्न सकिन्छ, भर्खरै मनकामनामा यसैगरी भीडियो खिचेको छु ।’

सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर ।

‘क्वाडकोप्टर’मा आकर्षक ढकनीसमेत राख्न सकिने र बढी रकम खर्च गरेर राम्रो बनाउन मिल्ने सुनीलको कथन छ । यसमा लाग्ने सामान मल्टी रोडरजस्तै भएको उनले अनलाइनखबरलाई बताए । आफूले कतैबाट प्रोत्साहन पाए देशका लागि केही गर्न सक्ने उनले बताए । आफूले कुनै पार्टी वा गुटको नभई सिंगै देशका लागि काम गर्न चाहेको समेत उनले अनलाइनखबरसँग भने ।

सुनीलले केही महिनाअघि काठमाडौंको चोभारमा उढाएको ‘क्वाडकोप्टर’ को भिडियो उनको युट्युबमा समेत हेर्न सकिन्छ ।

सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर । जसमा नेपालको झण्डा समेत छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID