Saturday 26 January 2013

प्रधानमन्त्रीको ट्वीटरमा खिसीटिउरीदेखि सुझावको ओइरो

 प्रधानमन्त्री बाबुराम भट्टराईको बारेमा एकपटक विचार गरौं है त ? उपाधिमा उहाँ डाक्टर, अहिलेको पद प्रधानमन्त्री अर्थात अंग्रेजीमा प्राइममिनिस्टर । मुस्ताङ गाडी चढेर चर्चामा आएपनि जिल्लाजिल्लामा पुग्दा चढ्नुपर्ने त्यही महंगो हेलिकप्टर । बस्ने ठाउँ बालुवाटार टारमा बसेर धेरै ‘टर’सँग सम्बन्ध रहेका प्रधानमन्त्री पछिल्लोपटक यही टर झुण्डिएको ठाउँमा पुगेर चर्चित हुनुभएको छ । त्यो हो टि्वटर ।

‘बौद्धिक’ र युवा पुस्तामाझ बढी लोकपि्रय सामाजिक सञ्जाल टि्वटरमा प्रधानमन्त्रीले देश विकास र राजनीतिक निकासका आफ्ना महत्वपूर्ण टिप्पणीहरु राख्ने गर्नुहुन्छ । युवावर्गलाई निराश नहुन सुझाव दिनुहुन्छ । आफूलाई आएका धेरै प्रश्नमध्ये छनोट गरेर केहीको जवाफ पनि फर्काउनुहुन्छ । राजनीतिक तथा प्रशासनिक कामले व्यस्त भएपनि उहाँले नियमित रुपमा टि्वटर चलाइरहनुभएको छ ।

प्रधानमन्त्रीको टि्वटरमाथि हाँसीमजाक

अरु देशमा सरकार प्रमुख र विशिष्ट व्यक्तिहरुले सामाजिक सञ्जाल चलाउनु नौलो नभएपनि नेपालका लागि भने पहिले अरुले नगरेका भएकाले प्रधानमन्त्रीको टि्वटर अभियान नयाँ विषय भएको छ । उहाँलाई टि्वटरमा खिसिटिउरीदेखि महत्वपूर्ण राजनीतिक सुझाव दिनेको संख्या उत्तिकै छ ।

प्रधानमन्त्रीले टि्वटर चलाउन थालेपछि एकजनाले लेखेका छन् :

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

चार-पान दिन भयो, बरर आउछन, ट्वीटर फिरिरी…

 जनतालाई ढाटी, आस्वोसन बाडी ठुलो दल बनेको …

कुर्सीमा पुगी बिदेसी पुजी, आफ्नै आगन खनेको ..

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

हुन्छ के हो निर्बाचन फेरी, ट्वीटर फिरिरी,….

सानुमा सानु नेपाल रास्ट देखेनौकी राम राम ,

जहिलेनी उल्लु जनतालाई पार्छौ के हो चाल बाबुराम रुरु

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

सपनाको खेति खोरिया फाडदै, ट्वीटर फिरिरी,…!!

 ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,..

चार – पान दिन भयो, बरर आउछन, ट्वीटर फिरिरी !!

कतिले टि्वटरमार्फत प्रधानमन्त्रीको छेडछाड पनि गर्ने गरेका छन् । गौरव खतिवडाले प्रधानमन्त्रीलाई लेख्नुभएको छ :

‘भट्टराईज्यू एउटा गतिलो जागिर लगार्यदिनुस् न, हजुरलाई दुःख लाग्दैन ? डिग्री पढेको नेपाली युवकले बिदेशमा भाँडा माझेर बस्छन् भन्दा ?’

‘ल म सुतें । सबेरै उठेर पाकिस्तानीको रेष्टुराँमा भाँडा माझ्न जानुछ । नेपालमा एक सेमेष्टर सक्न एक वर्ष लाग्यो, यता आएको, दुःख पाइयो ।’

यस्तै उज्जवल आचार्यले लेख्नुभएको छ : ‘नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भन्ने एउटा प्रम थिए उहिले । अहिले चाहिँ बिहार बनाउँछु भन्ने आएछन् । अग्रगामी छलांग त होला नि ।’

भंगेरो नाम भएका एकजनाले आइतबार मात्रै प्रधानमन्त्रीलाई व्यंग्य गर्दै लेखेका छन् :

‘२७ वर्षे युवा किशोर विष्ट निजी खर्चमा सडक बनाउँछन् । देशको प्रधानमन्त्री सरकारी पैसामा निजी हवाई भ्रमण गर्छन् ।’

सवाल जवाफ

आफ्नो टि्वटरमा दिनहुँ आउने सयौं टिप्पणीलाई प्रधानमन्त्रीले अध्ययन गर्ने भएको उहाँको निजी सचिवालयले जनाएको छ । कतिपय उहाँ आफैंले हेर्नुहुन्छ, कतिपय सुझावलाई सहयोगीहरुले संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउँछन् ।

धेरै सुझाव, प्रतिकृया र टिप्पणीमध्ये केहीको प्रधानमन्त्रीले जवाफ पनि दिने गर्नुभएको छ । दिप्ती गुरुङले सोध्नुभएको एकल आमाका सन्तानलाई नागरिकता दिनेबारेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ फर्काउनुभएको छ :

‘मैले केही दिन पहिले उच्च पदस्थ अधिकारीहरुलाई राखेर एकल आमाका सन्तानलाई नागरिकता दिन भनिसकेको छु ।’

प्रधानमन्त्रीको यो जवाफमा धरानबाट पत्रकार सीता मादेवाले लेख्नुभएको छ :

‘तर व्यवहारमा लागू भएको छैन प्रधानमन्त्रीज्यू ?’

सरकारी कार्यालयमा हुने अनियमतता र घुसखोरीप्रति सोधिएको प्रश्नमा प्रधानमन्त्रीले जवाफ फर्काउनुभएको छ :

‘घुस खाने कर्मचारीको प्रमाणसहित नाम दिनुस्, कार्वाही हुन्छ ।’

प्रधानमन्त्रीको यो जवाफमा धेरैले व्यंग्य गरेका छन् । तीमध्ये केही यस्ता छन् :

‘हँसाउनुभयो प्रधानमन्त्रीज्यू, कुन चाहिँ घुस्याहालो चिट्ठी लेखेर या भिडियो बनाएर घुस माग्छ ?’

‘अपराधीको अपराध लुकाउन खोज्ने सरकारको नाइकेको नि नाम लेखेर दिने हो महाराज ?’

प्रमाण सहित कार्वाही परेका चाहिँ किन छुट्ट्न नि ?’

‘कर्मचारी मात्र कि घुस खाने अरुलाई नि कार्वाही हुन्छ ? केशव स्थापितले लिंदैछन् नाम प्रमज्यू ।’

‘तपाईंले कार्वाही गर्न सक्ने निमुखा कर्मचारी त हो नि । सक्ने हो भने आफ्नै श्रीमतीलाई कार्वाही गर्नुस्, स्थापितले प्रमाण दिइसके ।’

यस्तै पार्टी कामको सिलसिलामा हेलिकप्टर चढेर सरकारी खर्चको दुरुपयोग भयो भन्ने आलोचना बढेपछि प्रधानमन्त्रीले टि्वटरमै लेख्नुभयो :

‘पार्टी कामको भ्रमणको पैसा पार्टीले तिर्छ, सरकारको होइन । मैले यो प्रणाली शुरुदेखि नै कायम गर्दै आएको छु ।’

तर प्रधानमन्त्रीको यो जवाफमा पनि धेरैले चित्त बुझाएनन् । कसैले पार्टीमा चाहिँ त्यति धेरै पैसा कहाँबाट आउँछ भनेर प्रश्न गरेका छन् । कतिले त्यो खर्च सरकारकै हुने बताएका छन् । पत्रकार दिपक भट्टराईले लेख्नुभएको छ :

लालध्वज ९उहाँलाई यही नाम प्यारो भएर होला टि्वटरमा प्रयोग गर्नुभएको छ० जीले पार्टीको काममा गएको हेलिकप्टर खर्च पार्टीले वेहोर्छ भन्नुभएको छ। पार्टीले भर्खरै निर्वाचन आयोगमा बुझाएको हिसाब किताबमा पार्टीसँग १७ लाख रुपैयाँ मात्र छ। दिनदिनै हेलिकप्टरमा उडेकै उडै हुनुहुन्छ। त्यो १७ लाख त हेलिकप्टरमा उड्दा दुई दिन मै सकिन्छ रे। आफू प्रधानमन्त्री भएका बेला पार्टीलाई घाटामा लगेको आरोप लाग्ला है…!!

प्रधानमन्त्रीका ताजा विचार

सार्वजनिक कार्यक्रममा नभनिएका कतिपय विषयलाई प्रधानमन्त्रीले टि्वटरमा समेत लेख्ने गर्नुभएको छ । जसको आधारमा समाचार बन्ने गरेका छन् । शनिबार भक्तपुरमा पार्टी कार्यक्रममा भाषण गर्नुअघि प्रधानमन्त्रीले लेख्नुभयो :

‘अबको राजनीतिक निकास संविधानसभाको नयाँ निर्वाचन नै हो । आगामी जेठ १५ सम्म निर्वाचन गर्ने सम्भावना अझै छ ।’ टि्वटरमा भनेजस्तै उहाँले भाषणमा पनि यही कुरालाई जोड दिनुभएको थियो ।

टि्वटरमा प्रधानमन्त्रीले उर्जाको विषयमा बढी जोड दिने गर्नुभएको छ । उहाँले लेख्नुभएको छ :

‘उर्जा संकट समाधानका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना जरुरी छ । लोडसेडिङ पुरै अन्त्य गर्न ५ वर्ष लागेपनि कम गर्दै लान सकिन्छ ।’ प्रधानमन्त्रीले टि्वटरमा लोडसेडिङ घट्ने जानकारी दिएपछि विद्युत्त प्राधिकरणले तालिका ननिकालिकनै १४ घण्टालको लोडसेडिङलाई १२ घण्टामा सीमित गर्न थालेको छ ।

यसरी प्रधानमन्त्रीले युवामाझ लोकपि्रय सामाजिक सञ्जाल टि्वटर मार्फत नयाँ विषयसँगै सोधिएका प्रश्नको जवाफ पनि दिने गर्नुभएको छ । प्रधानमन्त्रीले आफैं टि्वटर चलाउनुहुन्छ कि अरुले चलाउँछन् केहीले अझै आशंका गरेका छन् । तर उहाँका प्रमुख स्वकीय सचिव सचिव विश्वदीप पाण्डे भन्नुहुन्छ -’उहाँ आफैंले चलाउनुहुन्छ, जवाफ पनि उहाँले नै दिनुहुन्छ, कहिलेकाहीँ हामीले आएका टिप्पणी र प्रतिकृया उहाँलाई बुझाउँछौं ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID