Wednesday 8 October 2014

बलात्कार आरोपमा पाँचजनालाई फाँसी

अफगानिस्तानमा सामूहिक बलात्कारका आरोपी पाँचजनालाई बुधबार फाँसीको सजाय दिइएको छ। मानवाधिकार संगठनले अफगानिस्तानका राष्ट्रपति असरफ गनीसमक्ष फाँसीको सजाय रोक्न माग गरे पनि रोकिएन।

ती पाँच व्यक्ति चार महिलाको बलात्कार गरेको आरोपमा दोषी ठहर भएका थिए। उनीहरूले गत अगस्तमा पगमान सहरमा विवाहबाट फर्किरहेका चार महिलाको अपहरण गरी बलात्कार गरेका थिए। ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सुनुवाइका क्रममा प्रमाणको कमी भएको भन्दै कानुनी प्रक्रिया पूरा नभएको दाबी गरेको थियो। यससँगै अपराध बलजफ्ती स्विकार्न लगाएकोसमेत जानकारीमा आएको छ।

चार महिलाको सामूहिक बलात्कारको घटनालाई लिएर अफगानिस्तानमा देशव्यापी रूपमा विरोध प्रदर्शन भएको थियो। अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले समेत दोषीलाई मृत्युदण्ड सजाय माग गरेका थिए। अफगानिस्तानमा सामान्यतया बलात्कारमा भन्दा सशस्त्र डकैतीमा मृत्युदण्ड दिइने गरिन्छ। अफगानिस्तानका महान्याधिवक्ताका प्रवक्ता अता मोहम्मद नुरीले भने, 'दोषीलाई फाँसी हुनैपर्छ र यसैअनुसार भयो।'

गत साता पदबाट हट्नुअघि कारजाईले फाँसीको सजायमा हस्ताक्षर गरेका थिए। प्रहरीका अनुसार सात आरोपीहरूले प्रहरीको पोसाकमा बन्दुक लिएर अगस्त २३ को बिहान गाडीको समूह रोकेका थिए। उनीहरूले चार महिलालाई गाडीबाट तानेर लगेको, उनीहरूसँग भएको सम्पत्ति लुटेको, उनीहरूलाई कुटपिट गरी बलात्कार गरेका थिए।

यस घटनामा पीडित एक महिला गर्भवती भएको बताइएको छ। सातजनामध्ये दुईजनालाई भने आजीवन कारावासको सजाय सुनाइएको थियो। अफगानिस्तानमा महिलामाथि हुने हिंसालाई सामान्य घटनाको रूपमा लिइन्छ, तर पहिलोपटक सबैको ध्यान यस बलात्कारको घटनामा तानिएको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID