Wednesday 22 January 2014

‘६ एकान ६’ले यसरी तान्यो दर्शक

काठमाडौं, माघ ८ । सानो पर्दाका चर्चित कलाकारहरुको उपस्थिति रहेको ‘६ एकान ६’ले मनग्य दर्शकहरु पायो । दर्शकहरु हलसम्म पुगेर फिल्म हेर्न उत्साहित देखिए । प्रदर्शनको दोस्रो सातासम्म पनि दर्शकहरुमा फिल्मप्रतिको ‘क्रेज’ निरन्तर रह्यो ।


धेरै दर्शकले फिल्म रुचाए । ‘६ एकान ६’ले फिल्मकर्मी, समीक्षक लगायतको पनि राम्रो प्रतिक्रिया पाउन सफल भयो । लामो समयपछि पुनः एक पटक नेपाली फिल्मले हरेक उमेर, वर्ग र परिवेशका दर्शकलाई हलसम्म तानेको देखियो ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘६ एकान ६’ सुरुवाती दिनहरुमा सिंगल र मल्टिप्लेक्स दुबैमा ‘हाउसफुल’ चलेको निर्माणपक्षको दाबी छ । नेपाली फिल्मको कारोबार खस्किरहेको पछिल्लो अवस्थामा ‘६ एकान ६’ले निकै राम्रो आम्दानी गरेको निर्माणपक्षले जनाइरहेका छन् ।

‘६ एकान ६’ले दर्शक जुटाउनुको प्रमुख कारण भनेकै फिल्ममा ‘चर्चित’ अनुहारहरु हुनु नै हो । सानो पर्दाका ‘लोकप्रिय’ कलाकारहरुको एकमुष्ठ उपस्थितिले नै आफूहरुलाई हलसम्म खिंचेको स्वंय दर्शकहरुले बताइरहेका छन् । नेपाली दर्शकहरुमाझ चर्चित ‘तीतो सत्य’, ‘जीरे खुर्सानी’ ‘मेरी बास्सै’का प्रमुख कलाकारहरुको अभिनय एउटै फिल्ममा हेर्न दर्शकहरु हलसम्म तानिए । 

तीन छुट्टाछुट्टै टेलिश्रृंखलामार्फत दर्शकहरुलाई प्रशस्त मनोरञ्जन प्रदान गर्दै आएका कलाकारहरु एउटै फिल्म हुनु र फिल्म हास्य पृष्ठभूमिकै हुनुको कारणले पनि दर्शकलाई सजिलै लोभ्यायो । त्यति मात्रै होइन, सानो पर्दामा भन्दा बिल्कुल अलग र फरक अन्दाजमा ती हास्य पात्रहरु दैनिक जीवनका यथार्थ चरित्र बनेर दर्शकमाझ उभ्भिए, जसलाई दर्शकले रुचाए । करिब साढें दुई घण्टाको फिल्ममा दर्शकले थुप्रै पटक पेट मिचिमिचि हास्न बाध्य बनाउने दृष्य र संवाद भेट्टाए, जसबाट दर्शकले स्वस्थ्य मनोरञ्जन प्राप्त गरे ।

फिल्मकी एक्ली नायिका नीता ढुंगाना (आस्था)का लागि सम्भावित दुलाहा बनेर आएका व्यापारी, वकिल, ‘डुब्लिकेट’ इनिस्पेक्टर पाण्डे, कवि, कामदार र सुकुम्बासी बस्तीको ‘माग्ने’ले आ–आफ्नो चरित्र अनुसार गहन र यथार्थपरक अभिनय प्रस्तुत गर्दा दर्शक बेलाबेला भावुक हुन र बेलाबेला दिल खोलेर हास्न बाध्य पारिन्छन् । त्यसो त रुपरंग, जवानी र धन, सम्पत्तिले भरिपूर्ण एक युवतीले दुलाहा खोज्ने क्रममा पुरुषको चरित्र केलाएको पक्ष पनि सबल नै छ । नीताको ‘ग्ल्यामर’ रुपले पनि दर्शकलाई आकर्षित नै गर्छ ।

फिल्ममा धेरै राम्रा पक्षका बीच पनि केही दृष्य, संवाद र गीतले भने दर्शकलाई झर्को लाग्न सक्छ, केही दृष्य र घटना दर्शकलाई ‘वाइह्यात’ पनि लाग्न सक्छन् । यद्यपि, समग्र फिल्मले भने दर्शकलाई मनोरञ्जन प्रदान गर्छ र त्यसैको प्रतिफल हो, ‘६ एकान ६’को सफलता । निर्देशक दिनेश डिसीको काम धेरै हदसम्म तारिफयोग्य छ र कलाकारहरुले पनि चरित्र अनुसार दमदार अभिनय पस्केका छन् ।

त्यसो त ‘६ एकान ६’ चल्नुको सम्पूर्ण श्रेय कलाकार र उनीहरुको अभिनयको पाटोलाई मात्रै पनि जाँदैन, फिल्मलाई मात्रै पनि जाँदैन । फिल्म चल्नुको अर्को प्रमुख कारण ‘पट्यार लाग्दो’ विज्ञापन पनि हो । फिल्म प्रदर्शन अगाडि ‘तीतो सत्य’, ‘जीरे खुर्सानी’ र ‘मेरी बास्सै’मा दर्शकहरुलाई ‘दिक्कै’ लाग्ने गरी गरिएको विज्ञापनले पनि केही हदसम्म दर्शकलाई खिंचेको कतिपयको बुझाइ छ ।

यस बाहेक फिल्मका कलाकार, निर्माणपक्ष लगायतले देशका विभिन्न भागमा पुगी गरेको प्रचारप्रसार लगायतले पनि फिल्मप्रति दर्शकको रुची बढेको नकार्न सकिन्न । फिल्मले ‘पट्यार लाग्ने’ गरी नै विज्ञापन गरेपनि अन्ततः फिल्म राम्रो भएकाले नै दर्शकले ‘६ एकान ६’ रुचाएको फिल्मकर्मीहरुको तर्क छ ।
कलाकार समेत रहेका दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा फिल्मका निर्माता हुन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID