Friday 11 October 2013

आसारामविरुद्ध धमाधम बलात्कारको नयाँ उजुरी

 आसारामविरुद्ध धमाधम बलात्कारको नयाँ उजुरी
आसारामविरुद्ध धमाधम उजुरीअहमदाबाद – भारतका धर्मगुरु आसाराम र उनका छोरा नारायण साईंविरुद्ध दक्षिणपश्चिमी राज्य गुजरातको सुरतमा बलात्कारको नयाँ उजुरी परेको छ। गुजरातको सहर सुरतमा दुई जना दिदीबहिनीले छोरासहित आसारामविरुद्ध यौन शोषणको उजुरी दर्ता गराएका हुन्। सुरतको जहाँगीरपुरा प्रहरी थानामा गरिएको उजुरीमा दिदीको यौन शोषण आसारामले र बहिनीको छोरा नारायणले गरेको आरोप लगाइएको छ।
जोधपुर आश्रममा बलात्कारको अभियोगपछि प्रहरी हिरासतमा रहेका आसारामविरुद्ध अहिले चारैतिरबाट उजुरी परिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हाई कोर्टले आसारामद्वारा जमानतका लागि दिइएको निवेदन अस्वीकार गरेको थियो। आसारामलाई अहिले जोधपुर जेलमा राखिएको छ।
उजुरीकर्ता दिदीबहिनीका अनुसार उनीहरूलाई आसारामको अहमदाबादस्थित मोटेरा आश्रममा आयुर्वेदिक औषधी बनाउन राखिएको थियो। अहिले विवाहीत जीवन बिताइरहेका दिदीबहिनीलाई त्यहीं नै यौन शोषण गरिएको दाबी उनीहरुले गरेका छन्।
आसारामले मोटेरा आश्रममा दिदीसँग सन् २००१ देखि २००७ बीच कैयौंपल्ट बलात्कार गरेको उनले बताइन्। बहिनीको उजरीमा भने आसारामका छोरा नारायणले उनलाई सुरतको जहाँगीरपुरास्थित आश्रमबाहेक साबरकान्ठा जिल्लाको गाम्भोई आश्रम, पटना आश्रम, नेपालको राजधानी काठमाडौंस्थित आश्रम र मध्यप्रदेशको मेघनगरस्थित आश्रममा बलात्कार गरेको उल्लेख छ।
उजुरीअनुसार बहिनी सन् २००२ देखि २००४ सम्म साधकका रुपमा आसारामको आश्रममा बसेकी थिइन्। उनलाई केही समयका लागि आसारामको हिम्मतनगरस्थित आश्रमको सञ्चालिकासमेत बनाइएको थियो। दिदी भने आयुर्वेदशालामा औषधी उत्पादनमा सघाउने गर्थिन्। दिदीबहिनी दुवैले आफूमाथिको अत्याचारको विरोध गर्दा उनीहरूलाई सताइएको र पछि आश्रममा चोरीको झुटो आरोप लगाएर निकालिएको थियो। दिदी करिब १० वर्ष साधकका रुपमा बसेपछि सन् २००७ मा आश्रम छोडेकी थिइन्।
सुरतका प्रहरी कमिस्नर राकेस अस्थानाले आसाराम र उनका छोरा नारायणविरुद्ध उजुरी परेको पुष्टि गरेका छन्। अस्थानाले भने, 'नारायण साईंविरुद्ध सुरत प्रहरीले छानबिन थालेको छ। अहमदाबादमा अपराध भएका कारण आसारामविरुद्धको उजुरी भने हामीले अहमदाबाद प्रहरीलाई पठाएका छौं।' अस्थानाका अनुसार छिट्टै नै प्रहरीले नारायणको बयान लिनेछ। प्रहरीले दिदीबहिनीको यौन शोषण सन् २००२ देखि २००४ बीच भएकाले त्यसबेला बहिनी नाबालिग रहेको आशंका गरेको छ।
यसबीच आसारामको आश्रममा नै रहस्यमय रुपमा मारिएका दाजुभाई दिपेश र अभिषेक मृत्यु मामिलाबारे परिवारले पाँच वर्षपछि आन्दोलन तीव्र पारेका छन्। आसारामको आश्रममा अध्ययन गर्ने दिपेश र अभिषेकको लाश आश्रमनजिकै फेला परेका थिए। उनीहरूको परिवारले सोमबार र मंगलबार अहमदाबादमा धर्ना दिनुका साथै न्याय माग्दै फेरि आन्दोलन थाल्ने निर्णय गरेका छन्।
सन् २००८ मा आसारामको साबरमतीस्थित आश्रममा दिपेश र अभिषेक बाघेलाको संदिग्ध रुपमा मृत्यु भएको थियो। क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्टले मृत्युबारे छानबिन गरेपछि आसारामको आश्रमका सात जना साधकविरुद्ध अभियोगपत्र पेश गरेकेा थियो। आरोपी सात जनाविरुद्ध हत्याको अभियोग लगाइएको थियो।
अहमदाबादस्थित प्रमुख मेट्रोपोलिटन मजिस्ट्रेटले सात आरोपीमध्ये चारविरुद्ध शनिबार गैरजमानती पक्राउको आदेश दिएका थिए। आरोपी उदय संघानी, अजय शाह, विकास खेमका र मिनकेत पत्राविरुद्ध मजिस्ट्रेटले पक्राउ आदेश दिएका थिए।
मृतक दिपेशका पिता प्रफुल्ल बाघेलाले शनिबार सञ्चारमाध्यमसँग भने, 'जोधपुर प्रहरीले आसाराम र उनका अनुयायीलाई पक्राउ गर्नसक्छ भने गुजरात प्रहरीले आरोपी पक्रन किन सक्दैन?' दिपेश र अभिषेक काण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको थिएन।
साभार : नागरिक

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID