लन्डन, आश्विन २६ - जिन्दगीको लामो यात्रासँगै छिचोल्ने प्रतिज्ञा गरेर साढे चार वर्षअघि बिहे बन्धनमा बाँधिए । रमेश र शिला (नाम परिवर्तन) । बिहेलगत्तै अध्ययनका लागि बेलायतको टियर फोर भिसा मिल्यो । नयाँ सम्बन्ध, नयाँ परिवेश र नयाँ आकांक्षा । दिनचर्या कम रोमाञ्चक रहेन । श्रीमती विद्यार्थी, श्रीमान् डिपेन्डेन्ट भएकाले फुलटाइम जव । परिश्रमको कदर हुने देशमा नियमित आम्दानीले केहीको अभाव हुने त कुरै भएन । घुमफिर, मोजमस्ती । वैवाहिक सम्बन्ध मजबुत थियो । तर समय बित्दै जाँदा रमेशमा पाश्चात्य प्रभाव देखिन थाल्यो । विदेशी साथीबाट उसले नाइट आउट, सोसलाइज, फन इत्यादि सिक्यो ।
समयमा कहिल्यै घर नआउने, घर व्यवहार भद्रगोल छ । एक पैसा बचत छैन । उसका यस्तै क्रियाकलापले दाम्पत्य जीवनको त्यो रमाइलो विगत विस्तारै मेटिँदै गयो । एकापसमा कुरै नमिल्ने । अन्ततः बिहेको चार वर्षपछि शिला आफ््नो वैवाहिक सम्बन्ध समापनतिर लागेकी छिन् । उनले एउटा कानुनी र्फममा दाखिल गरेको सम्बन्ध विच्छेद (डिभोर्स) फाइलमा वैचारिक मतभेद र आफ्नो भावनाको कदर नभएको निवेदन छ । उता रश्मी र हेम (दुवै नाम परिवर्तन) को कहानी बेग्लै छ । १२ वर्षअघि बेलायत छिरेको हेम विद्यार्थी भिसाबाटै पीआर पाए ।
उनी विद्युतीय सामान बेच्ने एउटा कम्पनीमा कार्यरत छन् । बेलायत टेकेको ७ वर्षपछि नेपाल गएर उनले घरजम गरे । आफूभन्दा ज्यादै कम उमेरकी श्रीमती । साथमै ल्याएपछि दुवै बेलायतको व्यस्त दैनिकीमा रमाउन थाले । हेम काममा बढी नै व्यस्त हुने । तर रश्मीको थोरै जागिर ज्यादा घरायसी काम थियो । श्रीमान्को यथेस्ट कमाइ अनि बेलायती रमझमले रश्मीमा क्रमशः परिवर्तन देखिन थाल्यो । अधिकांश समय फेसबुक च्याट, विकेन्डमा गेट टुगेदर अनि साथीभाइसँग आउटिङले परपुरुषसँग उनको हिमचिम बढेपछि यी दुई जिन्दगीको रथसँगै तान्न नसक्ने निष्कर्षसहित सम्बन्धलाई बाइबाइ गर्दैछन् ।
सँगै बाँच्ने सँगै मर्ने कसम त्यति दिगो नहुने रहेछ, समय र परिस्थितिले । अझ बेलायत जस्तो विकसित देशमा रहेर वैवाहिक सम्बन्ध टिकाउन त झन् चुनौती रहेको यी उदाहरण मात्र हुन् । वैचारिक मतभेद, आर्थिक समस्या, जागिरको व्यस्तताले एकअर्कालाई पर्याप्त समय दिन नसक्नु, महिला अधिकार प्रत्याभूति, बढ्दो स्वतन्त्रता महसुस र साथीसंगीको मिल्नुभन्दा छोडी दे यार.. जस्तो आलोकाँचो सुझावले डिभोर्स क्रम वृद्धि भइरहेको छ । दूतावासमार्फत डिभोर्सका लागि वारेसनामा दिन आउनेको संख्या बढिरहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले गत भदौ महिनामा मात्र डिभोर्स र जग्गाका लागि ३१ वटा वारेसनासम्बन्धी काम गरेको थियो । समाजशास्त्र पढेका बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले यो क्रम बढिरहेको जनाउँदै सम्बन्ध विच्छेद बढ््नुका केही कारण ठम्याए । उनकै शब्दमा, सम्बन्ध टुंग्याउने सवालमा महिला अग्रपंक्तिमा छन् । खुला पाश्चात्य संस्कृति र पर्यावरणको प्रभाव, आत्मनिर्भरता, महिला पुरुष समान भनेर रटाउने आधुनिक शिक्षा अनि देश छाडेर आएपछि परिवर्तन हुने विलासी मानसिकता र स्वतन्त्रता आपसी सम्बन्धका तगारो हुन् चालिसेको बुझाइमा ।
'महिलाले गर्छु भनेपछि केही गर्ने कुरै आउँदैन,' चालिसे भन्छन्, 'बेलायतले महिला अधिकार बढी दिएकाले पनि यो गर्न आत्मबल बढेको हुनुपर्छ ।' यस्ता मुद्दा धेरै सम्हालिरहेको छ लन्डन इलिङस्थित व्यस्त कानुनी र्फम 'एभरेस्ट ल सोलिसिटर्स' ले पनि । र्फमका पि्रन्सिपल एवं पहिलो नेपाली सोलिसिटर राजु थापाको बुझाइमा विशेष गरी नेपाली समुदायभित्र घरेलु हिंसा सम्बन्ध तोडिनुको प्रमुख कारक छ । 'सधैं घर झगडा भएर सम्बन्धलाई तिलाञ्जलि दिनेहरू धेरै छन्,' थापाले भने । प्रजातान्त्रिक देशमा पनि किन अत्याचार वा असन्तुष्टि खेपेर बस्नु भन्ने मानसिकता पनि अर्को कारण देख्छन् थापा । बेलायत भित्रिने उद्देश्यले नक्कली बिहे गरी डिपेन्डेन्टमा आएका धेरै युवायुवती पनि अहिले वैवाहिक जीवन समाप्तितिर लागिरहेको थापाले जनाए । विशेष गरी १८ देखि २२ वर्ष उमेरका केटाकेटी पुरानो बनावटी बिहे (भावनात्मक नभए पनि कानुनमा चाहिँ सक्कली नै हो) टुंग्याएर अर्को जीवन सुरु गर्न लागेका हुन् ।
सन् २००९, मार्चमा बेलायत सरकारले टियर फोरको कानुनी ल्याएपछि धेरै विद्यार्थी नक्कली बिहे गरेर यता आए । तर त्यतिबेलाको सम्बन्ध केवल उद्देश्य पूर्तिका लागि भएकाले अहिले उनीहरू त्यसलाई टुंग्याएर अर्को जीवन सुरु गर्न चाहन्छन् । श्रीमान्-श्रीमती दुवै बेलायतमा सँगै रहेर अलग्गिन चाहने एकथरी छन् भने अर्कोतिर कुनै एक पक्ष नेपाल र अर्को बेलायत रहेर प्रत्यक्ष नभेटी बीचैमा सम्बन्ध टुंग्याउन खोज्ने पनि छन् । बेलायत-नेपाल जहाँ रहे पनि डिभोर्स प्रक्रिया बढाउन सकिने प्रावधान छ ।
नेपालको कानुनअनुसार, केटा वा केटी पक्षले आफू निकटलाई दूतावासमार्फत अख्तियार अर्थात् वारेसनामा दिएर विदेशबाटै सजिलै टुंग्याउन सक्छन् सम्बन्ध । बेलायतमै रहेका जोडीलाई भने प्रक्रिया अलिक भिन्न छ । सोलिसिटर थापाले बेलायतमा सम्बन्ध विच्छेद गर्न सकिने पाँच आधार रहेको प्रस्ट्याए । पहिलो, सम्बन्ध कायमै रहेका बेला कुनै एक पक्षले दोस्रो सम्बन्ध गाँसेमा (एडल्ट्री), दोस्रो, अनुचित व्यवहार गरेमा (गालीगलौज, घरेलु हिंसा, अपमान आदि), तेस्रो, बिनाकारण छोडेर गएको अवस्थामा, चौथो, दुई वर्ष निरन्तर एक अर्काबीच अलग्गिएर बसेको र सहमतिमा छुट्टनि चाहेमा र अन्तिम, पाँच वर्षसम्म एक अर्काबीच छुट्टिएर बसेको अवस्थामा अरू प्रमाणबिना नै सम्बन्ध विच्छेद भएको ठहरिनेछ ।
No comments:
Post a Comment