Thursday 4 July 2013

विवाहअघि यौनसम्पर्क गर्दा सय कोर्रा


मालदिभ्सको एक अदालतले विवाहपूर्व यौनसम्पर्क गरेको आरोपमा १५ वर्षे युवतीलाई सय कोर्रा लगाउन आदेश दिएको छ । साथै अदालतले ती युवतीलाई आठ महिना बालगृहमा नजरबन्दमा राख्न आदेश दिएको छ ।
युवतीले गत वर्ष सौतेनी बाबुले आफूमाथि यौनशोषण गरेको र बच्चाको समेत हत्या गरेको उजुरी गरेपछि प्रहरीले छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा युवतीले पहिलेदेखि नै अर्का पुरुषसँग यौनसम्पर्क गरेको तथ्य प्रहरीले फेला पारेपछि यस्तो सजाय सुनाइएको अदालतका अधिकारीले बताएका छन् !
बाल न्यायालयकी प्रवक्ता जैमा नासिदले युवतीले आफ्नो इच्छाले कानुनको उल्लंघन गरेकाले उनीविरुद्धको फैसला जायज भएको बताइन् । १८ वर्ष पुगेपछि मात्र उनलाई कोरा लगाइने तर समयअघि नै युवती तयार भएमा उनको इच्छाअनुसार सजाय दिइने उनले स्पष्ट पारिन् । मालदिभ्सको इस्लामिक कानुनअनुसार विवाहअघि यौनसम्पर्क गर्नु गैरकानुनी मानिन्छ । यद्दपि युवतीका पुरुष साथीलाई सजाय दिने नदिनेबारे स्पष्ट पारिएको छैन । युवतीको नाम भने गोप्य राखिएको छ । युवतीमाथि यौनशोषण तथा बच्चाको हत्या गरेको प्रमाणित भए उनका सोतेनी बुबालाई २५ वर्षको जेल सजाय हुनेछ । युवतीलाई यौनसम्पर्क राखेको आरोपमा दिइएको सजायप्रति एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाउँदै घटनालाई क्रुर, अपमानजनक र अमानवीय बताएको छ । त्यस्तै फैसलाप्रति मालदिभ्स सरकारले समेत असन्तुष्टि व्यक्त गरेको छ ।
यसअघि गत सेप्टेम्बरमा विवाहअघि यौनसम्पर्क राखेको आरोपमा १६ वर्षिया युवतीलाई सार्वजनिकस्थलमा कुटपिट गरिएको थियो भने उनका प्रेमीलाई १० वर्षको कैद सजाय दिइएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID