Sunday 2 June 2013

रेमिट्यान्स मा अवैध यौन सम्बन्धको राँको

 - १० फागुन ०६९ को मध्यरात बाँके, सोनपुरमा तरकारी व्यापारी चाँदबाबु खाँको घाँटी रेटेर हत्या भयो। एक सातापछि रहस्य खुल्यो कि उनको हत्या दुई विवाहित महिलाको योजनामा गरिएको थियो। पति वैदेशिक रोजगारीमा रहेका बेलाको अवैध यौन सम्बन्ध खुल्ने डरले उनीहरूले योजना बनाएर ती भारतीय युवकको हत्या गरेका थिए।

- केही दिन परिवारसँग बिताउने लालसामा भारतीय फौजी रेशमबहादुर थापा १ चैत
०६९ मा दार्जीलिङबाट कोहलपुरस्थित डेरामा पुग्दा पत्नी माया र छोराहरू भेटेनन्। सोधपुछ गर्दा उनकी पत्नीले स्थानीय दुर्गबहादुर बस्नेतसँग विवाह गरी सँगै बस्न थालेको थाहा पाए।


वैदेशिक रोजगार अब 'रेमिट्यान्स' भित्र्याउने भरपर्दो उपाय मात्र रहेन। रेमिट्यान्सबाट दंग नेपाली समाजमा वैदेशिक रोजगारका नकारात्मक प्रभावसमेत देखिएका प्रतिनिधि घटना हुन् यी। पारविारकि सम्बन्ध तहसनहस भइरहेका छन्। यौन विकृतिसँगै अवैध सम्बन्ध लुकाउन हुने अपराध मौलाएको छ। विदेशबाट घर फर्किंदा पत्नी र धनसम्पत्ति दुवै नहुने घटना बढेका छन्।

बाँके, सोनपुरका काफिया खाँ, ३५ र केशरजहाँ खाँ, २२, ले अवैध यौन सम्बन्ध खुल्ने डरले भारत, बहराइचस्थित मोतीपुरका चाँदबाबु खाँ, २९, को हत्या गरेका थिए। दुवैका पति वैदेशिक रोजगारमा छन्। चाँदबाबु नेपालगन्जमा बसेर तरकारी व्यापार गर्थे। काफियासँग उनको एक वर्षदेखि यौन सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, भारत, बहराइच कोतवालीका गुड्डु खाँसँग केशरजहाँको अवैध यौन सम्बन्ध रहेको चाँदबाबुलाई थाहा थियो। यौन मात्र होइन, चाँदबाबुले उनीहरू दुवैका पतिले विदेशबाट पठाएको पैसामा समेत आँखा गाडे। उनले काफिया र केशरजहाँसँग ५० हजार मागेर 'ब्ल्याकमेलिङ्' सुरु गरे। बाँके प्रहरी उपरीक्षक भूपालकुमार भण्डारी भन्छन्, "पैसा नदिए अवैध सम्बन्धबारे श्रीमान्लाई भनिदिने धम्की दिएपछि हत्या योजना बनाएको पाइयो।"

१० फागुनको राती ९ बजेतिर चाँदबाबुलाई काफियाले पैसा लिन सोनपुर-३ स्थित बटवा गाउँको खेतमा बोलाएकी थिइन्। साढे ९ बजे त्यहाँ पुगेका चाँदबाबुलाई काफिया, केशरजहाँ, गुड्डु र उनका घरबेटी औसन खाँ, साकिर खाँ र अलमान खाँ मिलेर हत्या गरेको अभियुक्तले स्वीकारेको प्रहरीले बताएको छ। साकिर र अलमानले नातेदार केशरजहाँलाई ब्ल्याकमेलिङ् गरेको रसिमा हत्यामा संलग्न भएको बयान प्रहरीलाई दिएका छन्।

भारतमा चोरी अभियोगमा प्रहरीले खोजी गर्न थालेपछि उनीहरू डेढ वर्षदेखि नेपालगन्जमा बस्दै आएका थिए। चाँदबाबु र गुड्डु साथी हुन्। गुड्डुकै मोबाइलबाट नम्बर लिएर चाँदबाबुले केशरजहाँलाई फोन गरेर पैसा मागेका थिए।

"अभियुक्तहरूले घेरा हालेर हातखुट्टा समाती हँसियाले घाँटी छिनाएर टाउको सात सय मिटर पर खेतमा गाडेका रहेछन्," उपरीक्षक भण्डारी भन्छन्। हत्यालगत्तै सक्रिय भएको जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त अनुसन्धान टोलीले सबै अभियुक्तलाई पक्राउ गरेको छ। हत्याका लागि गुड्डु र अलमानले उढरापुर मेलाबाट २ सय ७० रुपियाँमा हँसिया किनेर ल्याएको प्रहरीले पत्ता लगाएको छ। हत्यामा प्रयोग भएको हँसिया नजिकै पोखरीमा बरामद भयो। त्यस्तै, रगत लतपतिएको काफियाको कुर्ता-सुरुवाल फेला परेपछि भारत गएका गुड्डुलाई प्रहरीले स्थानीयको सहयोगमा झिकाएको थियो।

सुर्खेत, दहचौर-४ घर भई हाल रझेना-७ बस्दै आएका ३२ वषर्ीय रेशमले जवानीका धेरै वर्ष भारतीय फौजमा बिताए। सेवानिवृत्त भएपछि दार्जीलिङमा सानोतिनो व्यापार थालेका उनको जीवनमा पत्नीले छाडेको घटनाले बज्रपात भएको छ।

रेशमको कोहलपुरस्थित भाडाको कोठा रित्तो थियो। उनी पुराना याद सम्भिmएर भक्कानिए। दार्जीलिङमा कपडा व्यवसाय गरेर जोडेका सरसामान त्यहाँ थिएनन्। सुनाउँछन्, "विश्वासै गर्न सकिनँ, ससुरालीमा बुझ्दा बस्नेतसँग दोस्रो विवाह गरी उनकै घरमा बस्ने गरेको थाहा पाएँ। तपाइर्ंले अर्को विवाह गर्नूस् भनी माइती पक्षले भनेपछि श्रीमतीले अर्को विवाह गरेको कुरा यकिन भयो।"

जीवनभर अरूको देशमा पसिना बगाएका उनले 'हक कायम गरी फिर्ता गरी पाऊँ' भन्दै पूर्वपत्नी माया, ३१, विरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका छन्। माया हाल दोस्रो पतिका साथ बाँकेको राधापुर गाविसको सैनिकवीरपुर गाउँमा बस्छिन्।

१ माघ ०५९ मा जातीय परम्परा तथा रीतिरिवाज अनुसार उनीहरूको विवाह भएको थियो। लगत्तै दुई छोराको जन्म भयो । १२ वर्षअघि भारतीय गोर्खा रेजिमेन्टमा भर्ना भएका रेशमले चार वर्षअघि अवकाश पाएका थिए। जागिरबाट कमाएको रकम र घरघडेरीसमेत पत्नीकै नाममा गरेका रेशमले ती सम्पत्ति फिर्ताको मागदाबी गरेका हुन्।

रेजिमेन्टमा कार्यरत हुँदा २ लाख ५० हजार, अवकाश प्राप्त गरेपछि ३ लाख ७५ हजार र व्यापार-व्यवसायबाट कमाएको १ लाख ५० हजार गरी ७ लाख ७५ हजार रुपियाँ श्रीमतीलाई पठाएको उनको भनाइ छ। उनले पत्नीका नाममा रझेनामा घडेरी खरदि गरेका थिए। विवाहका बेला प्राप्त दाइजो र गरगहनाबाहेक पटक-पटक लाखौँ रुपियाँका गरगहना खरदि गरेको उनी बताउँछन्। उनीहरूले जोडेको सम्पत्तिबाट घर निर्माण गर्ने र सन्तानलाई राम्रो शिक्षा दिने उद्देश्यले कोहलपुर-३ एनटीबी रोडमा कोठा भाडामा लिएका थिए। अर्को विवाह गरे पनि जिम्मामा रहेको धनमाल फिर्ता माग्दा नदिएपछि अदालतको शरण पर्न बाध्य भएको रेशम सुनाउँछन्। भन्छन्, "खुसीका साथ जीवन बिताउने सपना थियो। मैले आफ्नो दायित्व निभाएँ, उनले धोका दिइन्।"

सहरबजारका होटलमा प्रहरीले छापा मार्दा पक्राउ पर्ने यौन व्यवसायीमध्ये आधाजसो वैदेशिक रोगजारमा जानेका पत्नी भेटिने गरेको बाँकेका प्रहरी उपरीक्षक भण्डारी बताउँछन्। उनका अनुसार चितवनमा एकपटक ३२ जोडी रंगेहात पक्राउ परे। तीमध्ये १७ महिलाका पति वैदेशिक रोजगारीमा रहेको पाइयो। तिनमा केही त काखे बच्चासहित थिए। भन्छन्, "सासू-ससुरा बोलाएर जिम्मा लगाउन पनि गाह्रो छ। घरबार नबिग्रोस् भनेर माफी मगाएर छाड्नुपर्ने स्थिति छ।"

गाउँका महिलाले पनि सहरबजारमा आएर यौन साथीसँग दिन बिताउने गरेको पाइएको छ। पतिसँग 'भिडियो च्याट' गर्ने, पैसा झिक्ने वा खबर ल्याउने मान्छेलाई भेट्ने बहानामा बजार आएर होटलमा यौन सम्बन्ध राख्ने प्रवृत्ति बढेको उनी सुनाउँछन्।

वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्रिए पनि सामाजिक क्षतिको ग्राफ उक्लँदो अवस्थामा छ। बाँके जिल्ला अदालतमा बितेको एक वर्षमा दर्ता भएका ८ सय १८ मुद्दामध्ये ३२ प्रतिशत अर्थात् २ सय ६१ वटा सम्बन्धविच्छेदका थिए। तीमध्ये ६७ जनाले अंशसहित सम्बन्धविच्छेदको माग गरेका छन्। यस्ता निवेदन दिनेमध्ये झन्डै ६० प्रतिशतका पति वैदेशिक रोजगारीमा छन्। जिल्ला अदालतका श्रेस्तेदार कृष्ण पौडेल भन्छन्, "सम्बन्धविच्छेदका मुद्दामध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीसँग जोडिएका छन्। आपसी शंका मात्र होइन, दोस्रो बिहे गर्नकै लागि सम्बन्धविच्छेद गर्ने धेरै छन्। अंशसहित सम्बन्धविच्छेद गर्न चाहनेको संख्या कम हुनुको कारण त्यही हो।"

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID