Wednesday 12 June 2013

एसएलसी पास भएकाले जान्नैपर्ने कुरा


देखासिकीको 'साइन्स' भन्दा रहरको विषय नै जाति
२९ जेठ, काठमाडौं । नारायण श्रेष्ठ, धेरैले चिनेजानेको परिचित नाम । बीबीसीको ‘साझा सवाल’ कार्यक्रमका प्रस्तोता नारायण पत्रकारितासँगै लेखन र साहित्यको क्षेत्रमा पनि उत्तिकै सकृय हुनुहुन्छ ।

गोरखा घ्याल्चोक स्थायी घर भएका श्रेष्ठले त्यहीँको ज्ञानमार्ग माविबाट २०५१ सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभयो । एसएलसीमा राम्रो अंक ल्याएपछि आफन्त र साथीभाइले विज्ञान विषय पढ्न कर गरे । ‘मेरो लगाव र झुकाव साहित्य र लेखनतिर थियो, त्यतैतिर पढ्छु भन्ने सोच्दैथिएँ, तर बाध्यताले बिज्ञान पढ्नुपर्ने भयो’ नारायणले अनलाइनखबरसित भन्नुभयो । तर दुई वर्षमै उहाँले आफ्नो बाध्यतालाई चिरेर रहरको बाटोतिर लाग्नुभयो । ‘दुई वर्षसम्म विज्ञान विषय पढ्दा लाग्यो, मेरो क्षेत्र यो होइन रैछ । अनि रत्नराज्य क्याम्पसमा भर्ना भएँ र आफूलाई मन पर्ने पत्रकारिता तथा साहित्यिक अध्ययनमा लागें ।’ वाध्यताको विज्ञान विषय छाडेर मनले रोजेको मानविकी पढ्न थालेपछि उहाँको अध्ययन निकै राम्रो भयो । पढाईमा सोचेको भन्दा बढ्दा सफलता मिल्यो । त्यही पढाईले उहाँ अहिले ‘सेलिबि्रटी’ बन्नुभएको छ । ‘आफ्नो भित्री मनमा जे कुराको लगाव छ, त्यही पढ्नुपर्ने रैछ’ नारायणको अनुभव छ ।

बिज्ञानको बढावा

एसएलसीमा विशिष्ट श्रेणी ल्याउनेले मात्र होइन, ‘थर्ड डिभिजन’ मा पास हुनेले समेत उच्च शिक्षामा ‘साइन्स’ पढ्छु भन्छ । छात्राहरुमध्ये धेरैको रोजाई नर्सिङ हुन्छ भने प्रायः धेरैले ‘साइन्स’ नै पढ्ने चाहना राख्छन् । ‘साइन्स पढेपछि कृषि, वन, इञ्जिनियरिङ, मेडिकल लगायतका अरु जुनसुकै क्षेत्रमा पनि लाग्न सक्ने भएकाले धेरैले यही रोज्छन्’ शिक्षाविद डा. विद्यानाथ कोइरालाले अनलाइनखबरसित भन्नुभयो-’तर यसरी पढ्ने सबै सफल हुँदैनन् ।’

उच्च माध्यमिक शिक्षापरिषदका अनुसार एसएलसी पास गरेकामध्ये धेरैले पहिला विज्ञान विषय नै रोज्छन् । त्यसपछि व्यवस्थापन, मानविकी, शिक्षा लगायतका विषय प्राथमिकतामा पर्ने गरेका छन् । पढ्न जान्नेले विज्ञान विषय रोज्ने गरेपनि नतिजा भने सन्तोषजनक देखिँदैन । ‘उच्च शिक्षाको विज्ञानमा परीक्षा दिनेमध्ये ७० देखि ८० प्रतिशत उतीर्ण हुने गरेको तथ्याँक छ’ उच्च माध्यमिक शिक्षा परिषदका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले अनलाइनखबरसित भन्नुभयो ।

त्यसो भए के गर्ने ?

‘राम्रो अंक ल्याउनेले विज्ञान नै पढ्नुपर्छ भन्ने छैन’ शिक्षाविद डा. कोइरालाले भन्नुभयो । विज्ञान विषय पढ्नको लागि क्षमतासँगै लगाव र आर्थिक पक्ष पनि उत्तिकै बलियो हुनुपर्छ । क्षमता भएर आर्थिक अवस्था कमजोर छ र आर्थिक अवस्था बलियो भएर क्षमता कम छ भने पनि विज्ञान नै नरोज्न उहाँको सुझाव छ । ‘सबैभन्दा ठूलो कुरा आफ्नो क्षमता हो, सँगै पारिवारिक र आर्थिक अवस्था पनि बुझ्नुपर्छ’ कोइरालाले भन्नुभयो -’विज्ञान मात्रै होइन, अरु विषय पढेर पनि भविष्य राम्रो बनाउन सकिन्छ ।’

विज्ञान विषय पढ्नेहरु पनि धेरै बेरोजगार छन् । ‘विज्ञान पढेर जागिर पाउने र अरु विषय पढेर काम नपाउने भन्ने हुँदै हुँदैन’ कोइरालाले भन्नुभयो-’पढेको कुरालाई कसरी जागिरमा बदल्ने भन्ने कुरा महत्वपूर्ण हो, यो सबै विषयमा संभव हुन्छ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID