Friday 7 June 2013

विद्यालयमा खेल सामग्री नहुँदा केटीहरुको तानातान ! ( भिडियोसहित )

फूटबलमा त्यति जम्न नसके पनि नेपालमा क्रिकेट खेलमा महिलाहरु पनि उत्तिकै सिपालु भैसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा नेपाली चेलीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक र शिल्ड पाइरहेकै छन् । अरु केही खेलमा पनि नेपाली महिलाहरुको उपस्थिति राम्रो छ । तर, राजधानी र शहरमा खेलकूदको जति नै हल्ला चले पनि गाउँका विद्यालयमा भने पर्याप्त खेल सामग्री नहुँदा भविश्यका खेलाडीहरु आपसमा तानातान गरेर मनोरञ्जन गरिरहेका छन् ।

पछि राम्रो खेलाडी बन्न सानैदेखि त्यस खेलप्रति रुची हुनुपर्छ । स्कूल छँदादेखि नै क्रिकेटमा रुची भयो भने पछि राम्रो खेलाडी बन्न सकिन्छ । यस्तै फूटबल, बास्केटबल, टेनिस, हाइजम्प लगायतका खेलमा पनि सानैदेखि यस्तै रुची र झुकाव हुनुपर्छ । तर, विद्यालयमा आवश्यक स्रोत, साधनको अभावमा सबै बालबालिकाले आफूलाई मनपर्ने खेल खेल्न पाएका छैनन् ।

धादिङ, चरिमारेटारको नलाङ मावि गाउँकै निकै पुरानो हाइस्कुल हो । यस विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी पढ्छन् । फुर्सदका बेला अरु विद्यालयका विद्यार्थीलाई जस्तै उनीहरुलाई पनि खेल्न मन पर्छ । तर, गाउँमा अरुले जे खेलेको देख्यो, त्यही खेल खेल्ने उनीहरुलाई बानी परेको छ ।

विद्यालयका अधिकांश छात्र फूटबल खेल्न मन पराउँछन् । तर, छात्रा भने फूटबल खेल्दैनन् । केटीहरु दुईतिर बराबरी हुने गरी बाँडिएर कम्मरमा समातेर एकअर्कातिर तान्छन् । जसले अर्को समूहको सदस्य बढी तान्न सक्यो, उसकै जीत । यस्तो खेललाई उनीहरु ‘डुम’ खेलको संज्ञा दिन्छन् । यस्तो खेल राष्ट्रिय स्तरमा खेलिँदैन र शायद यो जातीय छुवाछुतको मनोविज्ञानमा आधारित खेल पनि हो ।

किन क्रिकेट, भलिबलजस्ता खेलमा रुची नभएको ? यस्तो प्रश्नमा छात्राहरुले भन्छन्-’क्रिकेट खेल्न जानेकै छैन, सबैलाई पुग्ने गरी स्कूलमा भलिबल छैन, डूम खेल्न बल पनि चाहिएन, जान्नु पनि परेन ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID