Monday 17 June 2013

छोरीलाई नै श्रीमती बनाएर सन्तान प्राप्ति !

नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ ।

सुन्दै आङ नै जिरिंग हुने यो घटनाले नेपाली समाज कता जाँदै छ भन्ने प्रश्न पनि उब्जिएको छ । छोरीलाई बाबुले नै बलात्कार गरेको घटना बेला–बेला सार्वजनिक नभएका होइनन् । तर, छोरीलाई नै श्रीमती बनाएर बच्चासमेत जन्माएको यो घटनाले जो कोहीलाई भावविह्वल बनाउँछ । आफ्नै जेठी छोरीलाई सात वर्षअगावै श्रीमती बनाएका शान्तिनगर बरगाछीनिवासी ५१ वर्षीय सौगात साहको कर्तुत उनकै तीन छोरीले सार्वजनिक गरेका हुन् ।

जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । जेठी छोरीबाट जन्मेको बच्चा ६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरूको कुरा सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए । छोरीहरूको उजुरी र बयानलगत्तै प्रहरीले सौगातलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई) गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।

उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई लुकाउनुपरेको बयान दिएका थिए । त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरूले समेत सो बच्चालाई भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरू पनि असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन् । छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।

घरमा बस्न असुरक्षित भएको बताएका तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ । सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन् । ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए । घटना बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध उत्रिएका छन् । महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् ।
उनले सैगातलाई कारबाही गर्न सुनसरी जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरू एक भएर हस्ताक्षर अभियानको समेत थालनी गर्न लागेको बताइन् । यस्तै, छिमेकी राधा नेपालले बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन् । उनले सैगातमाथि कानुनी कारबाही नभए सामाजिक रूपमा कडा कारबाही गर्ने चेतावनी दिइन् । यता, आरोपित सौगातले भने छोरीसँग माया गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबी गरेका छन् । उनले सो कुरा बाहिर आए आफूहरूको बदनाम हुने डरले लुकाउँदै आएको दाबीसमेत गरेका छन् । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको बताएकी छन् । उनले इज्जत जाने डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाई गलत कुरा गर्दै आएको बताइन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID