Saturday 25 May 2013

यस्ता छन् एमालेका नवप्रवेशी !


 धरानको सभागृह बाहिर युवाहरु चुरोटको धुवाँ बुङबुङ उठाउँदै भीड लागेर बसेका । कोही रफ शैलीमा मोटरसाइकल हुइक्याउँदै भित्र पस्दै त कोही हल्ला-खल्ला गर्दै बाहिरिँदै थिए । सुरुमा त दिउँसै डान्स पार्टी आयोजना भएछ जस्तो लाग्ने ।

कानमा मुन्द्रा लगाएका, झ्याप्ले र चुल्ठो बाटेका एक हुल युवा मोटरसाइकलमा तीन-तीन जना चढेका थिए । अगाडि छानो नभएको रफ देखिने गाडीमा पनि युवाहरु उभिएका थिए । झट्टै हेर्दा कतै झैझगडा परेछ कि जस्तो लाग्ने गरी दौडिएका युवाहरु धरान सभागृह पुगे । त्यहाँ झन गज्जबकै रमिता थियो । लस्करै उभिएका चल्ठे-मुन्द्रेलाई एमालेका महासचिव ईश्वर पोख्रल धमाधम टीका लगाइरहनुभएको थियो ।

आइतबार मध्यान्ह धरान सभागृहमा एमाले प्रवेश गर्ने युवाहरु देख्दा केही पुराना कम्युनिष्ट कार्यकर्ताहरु अब त कम्युनिष्ट भन्न पनि लाज हुने भयो भन्दै फर्किंदै थिए । एमालेले करिब १२ युवाको नाम बाचन गर्दै युवाहरुको लस्कर लगाएपछि महासचिव पोख्रेलले पसीना चुहाउँदै टीका लगाउनुभएको थियो । नव प्रवेशी युवाहरु सभागृह वरिपरि चुरोटको धुँवा उठाउँदै हल्ला खल्ला गर्दै बसिरहेको दृश्यले कुनै डान्स पार्टी वा नाइट क्लबको झल्को दिन्थ्यो ।

एमालेको छैठौं जिल्ला अधिवेशनको अवसरमा शनिबार नै युवाहरुलाई प्रवेश गराउने कार्यक्रम भएपनि दर्के पानीले बिथोलेपछि आइतबार सभागृहमा ती युवाहरुलाई लस्कर लगाइएको हो । एमालेको जिल्ला अधिवेशन भए पनि सभागृहमा पाका र बौद्धिक व्यक्तित्व भन्दा पनि ठेक्कापट्टा, टेन्डर, झैझगडा र डान्सपार्टीमा भेटिने युवाहरुको भीड देखिन्थ्यो । रोचक त के थियो भने शनिबार राति धरानको ओटु नामक बारमा अबेरसम्म बस्ने र झैझगडा गर्ने युवालाई प्रहरीले पक्राउ परेकालाई समेत रातारात एमालेका नेताहरु प्रहरी कार्यालय पुगेर छुटाएर त्यहाँ ल्याइएको थियो ।

एमालेमा प्रवेश गर्ने कोही चर्चित नाम देखिएनन् । अधिकांश नवप्रवेशीहरु भोटरलिष्टमा नामसमेत नभएका कलिला र होहल्लामा हिँड्ने युवाहरु थिए । नवप्रवेशी मुन्द्रेहरुको आगमनले एमालेका नेताहरु मख्ख परे पनि भविष्यमा यी उरन्ठेउला युवाहरु रुपान्तरिक हुने हुन् या नेताहरुलाई नै घाँडो हुने हुन् ? नेताहरु नै स्पष्ट छैनन् । तर, युवाहरु पार्टी भित्रकै गुटवीच झगडा पर्दा आफैं-आफैं काटाकाट गर्ने स्वभावका भएको पुराना कार्यकर्ताको टिप्पणी छ ।

दुई साता अघिमात्र एमालेमा ओली गुटका भनेर चिनिने युवा संघका केन्द्रीय सदस्य ज्ञानदीप लिम्बुले झलनाथ गुटका भनिने युवा संघका नगर अध्यक्ष राजेन्द्र राईलाई हात हालेपछि पार्टीमा तनाव भएको थियो । त्यो तनाव अझै साम्य भइनसकेको अवस्थामा कुण्डलेहरुको प्रवेशले कुनै दिन एमालेमा ठूलै दुर्घटना हुने संकेत देखिएको छ ।

रक्तचन्द तस्करी र ठेक्का-पट्टामा लगाउँदैनौं : ओली

धरानमा महासचिवले गरेजस्तै शनिबार साँझ काठमाडौंको कपनमा एमाले नेता केपी शर्मा ओली र केन्द्रीय सदस्य योगेश भट्टराईले पनि यस्तै उमेरका ठिटाहरुलाई टीका र माला लगाइदिनुभएको थियो । तर, ओलीको दाबी थियो-’हामी यी युवाहरुलाई रक्तचन्दन तस्करीमा लगाउँदैनौं । ठेक्काट्टा, कमिशन र ठेकदारलाई धम्क्याउने काममा पनि युवाहरुलाई लगाउँदैनौं । हामीले यसरी युवाहरुलाई टीको लगाएको देशको विकासका लागि हो ।’

‘ठिटा’कै हातमा छ देशको भविश्य

एमाले नेता ओलीले भनेजस्तै यी जोशिला युवाहरुले हुलदंगा र झैझगडा छाडेर आफूलाई रुपान्तरण गर्दै देश र समाजको उन्नतिमा लागे भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर, उनीहरु पुर्शराम बस्नेतको बाटोमा लगे भने यसले पार्टीलाई मात्रै होइन, सिंगै समाजलाई पिरोल्ने छ । हेरौं, एमालेले अब यी युवाहरुलाई कुन बाटोमा अघि बढाउँछ ।

अहिले ‘ठिटा’ देखिने यिनै युवाहरु नेपालको भविश्य हुन् । यी युवाहरु सही मार्गमा लागे भने देश अघि बढ्छ, युवाहरु बिगि्रए भने सिंगो देशले र भावी पुस्तालेसमेत दुःख पाउँछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID