Tuesday 14 May 2013

अब डेरावाललाई छोरी दिनै गाह्रो भो काठमाडौंको समस्या !


बिहेअघि नै केटीपक्षले सुत्ने ठाउँ बनाइदिनुपर्ने
३१ वैशाख, काठमाडौं । सोमबार काठमाडौंको बालुवाटारका अनिल चौलागाईंले बिहे गर्दागर्दै जग्गेमै बेहुली छाडेर हिँडे । आफूसित सरसल्लाह नै नगरी घरपरिवारले जबर्जस्ती बिहे गरिदिन लागेकाले अस्वीकार गरेको भन्ने उनको प्रतिकृयाले धेरैजना अचम्ममा परे । कतिले उनलाई ‘खुस्केको मान्छे’को संज्ञासमेत दिएका छन् ।

 तर, केटा साँच्चै खुस्केट भएको भए केटी पक्षकाले किन बेलैमा उसलाई चिन्न सकेनन् ? त्यसमाथि अहिलेको जमानामा घरपरिवारसित सल्लाह नभई बेहुली त जग्गेमा बस्दिनन् भने अनिल त झन् बेहुला । उनीसित पक्कै पनि घरपरिवारको कुरा भएकै हुनुपर्छ । त्यसमाथि केटीसित पनि कुरा भएको उनले बताएकै छन् । त्यसैले उनले भनेजस्तो घरपरिवारले जबर्जस्ती बिहे गरेको भन्दा पनि यसमा कतै दाइजो वा लेनदेन नै बिहे भाँड्ने प्रमुख कारण त थिएन ? शंका गर्न सकिन्छ ।

काठमाडौंमा बढ्यो विकृति

तराईमा दाइजोप्रथा अझै कायम रहेजस्तै काठमाडौंसहित शहरी र पहाडी क्षेत्रमा अर्को कुप्रथा शुरु भएको छ । केटा काठमाडौंमा जागिरे छ र कोठाभाडामा बसेको छ भने केटी पक्षकाले बिहे अगावै कोठामा सुत्ने ओछ्याउन, कपडा राख्ने दराज, टेबल, किचन र्याक, ग्यास चुल्हो, कार्पेटलगायतका सम्पूर्ण गृहस्थी सामान भरिदिनुपर्छ । राजधानीबाहिर यसरी बिहे अगाडि नै केटापक्षको घर र कोठामा केटीपक्षले ओछ्यान बनाइदिनुपर्ने चलन छैन ।

राजधानीमा डेरावालको कोठामा मात्रै होइन, राजधानीमा घर भएका केटा पक्षले समेत विवाह अगावै आफ्नो घरमा सामान खरिद गरेर ‘सेट’ गरिदिन माग गर्न थालेका छन् । पहिले कुनै जातिमा नरहेको यस्तो कुसंस्कार यतिवेला काठमाडौंमा ‘प्रथा’कै रुपमा शुरु भैसकेको छ । त्यस्तै विवाह गरिसके पनि एकहप्ताभित्र अलग्गै पार्टी खुवाउनै पर्ने चलन पनि राजधानीमा झागिँदै जान थालेको छ ।

छोरीको माया लागेर कुनै बाबुआमाले थालेको यो चलन अहिले राजधानीमा कुप्रथा भएर झ्याँगिएको छ । बिहे भएका अरु साथीको कोठा यसैगरी भरिएको देखेर बिहे गर्न खोज्ने केटाले पनि त्यसकै आशा गर्छ । फलस्वरुप केटी पक्षलाई उसको चाहना पूरा गरिदिनुपर्ने बाध्यता आईलाग्छ । कतै बालुवाटारका अनिलले पनि केटी पक्षबाट कोठा नभरिने छाँट बुझेर जग्गेबाटै बेहुली छोडेर हिँडेका त होइनन् ?

शास्त्र विपरीतको काम

बिहेमा परम्पराभन्दा बढी विकृति भित्रिन थालेको भन्दै पण्डितहरु पनि दिक्क हुन थालेका छन् । ‘यसरी बिहे अगावै केटापक्षको कोठा सजाउनुपर्छ भनेर शास्त्रमा कतै लेखिएको छैन’ नेपाल पञ्चांग निणर्ायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित भन्नुभयो-’मान्छे आफैंले परम्परालाई विकृतितर्फ लगेका छन् ।’

बिहेमा केटीलाई फेरफारका लागि बेहुला पक्षकाले गच्छेअनुसार कपडा लैजाने र त्यसको सट्टा बेहुली पक्षले पनि आफ्नो गच्छे अनुसार कपडा दिने चलन सामान्य र पुरानै हो । ‘पछि छोरीको माया लागेर कतिपय बाबुआमाले आफूले सकेको केही दिने प्रथा शुरु भयो’ ढुंगेलले भन्नुभयो-’तर छोरीको माया लागेर दिने यो प्रथा कुप्रथामा परिणत भयो, अरुको देखासिकी र तडकभडक गर्ने प्रवृत्ति देखियो ।’ बिहेमा दाइजो र तडक-भडकलाई इज्जतसँग जोडिएकाले पनि छोरीको बिहे गर्न बाबुआमालाई अप्ठेरो हुँदै गएको छ । ‘बिहेमा देखिएको यो कुप्रथाको सबै क्षेत्रबाट बिरोध हुन जरुरी छ’ ढुंगेलले भन्नुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID