Friday 24 May 2013

झारफुक गर्दा बालकको मृत्यु, ‘पशुपति बाबा’ सहित पाँच पक्राउ


१० जेठ, काठमाडौं । बाबुआमाले धामीझाँक्रीको विश्वास गर्दा महोत्तरीका एक १२ वर्षीय बालकले ज्यान गुमाउनुपरेको छ । अस्पताल लैजानुपर्ने बालकलाई आफ्नै धामी केन्द्रमा राखेर झारफुक गर्ने पाँचजना धामीझाँक्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।महोत्तरी, रामनगर-९ का १२ वषिर्य मदन मस्राङ्गी झण्डै तीन महिनादेखि बिरामी थिए । टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, खान मन नलाग्ने समस्याले उनी दिनप्रतिदिन कमजोर हुँदै गए । सामान्य होला भनेर पहिले उनका बाबुआमाले त्यति ध्यान दिएनन् । बिसेक होला भनेर कुरे । तर, मदनलाई बीसको उन्नाइस भएन । झन्झन् कमजोर हुँदै गए ।

छोरोको हालतले बाबुआमालाई छटपटी बनायो । उपचारका लागि काठमाडौं आए । अस्पताल पुर्याउनु पहिले आफन्तलाई भने । आफन्तले धामीकहाँ जान सल्लाह दिए । काठमाडौंमा अस्पताल जस्तै धामीझाँक्री पनि प्रशस्तै भेटिन्छन् । सजिलै भेटिने धामीले बच्चालाई छामछुम पारे । अक्षता र फूलपाती छर्के । बच्चालाई सामान्य सुधार भयो । त्यसपछि बाबुआमा मदनलाई लिएर घर फर्के । घर पुर्याएपछि बच्चालाई फेरि उस्तै भयो । फेरि पनि बाबुआमाले अस्पतालभन्दा धामीझाँक्रीकै विश्वास गरे । महोत्तरीको हात्तीलेटमा केही धामीझाँक्री मिलेर झारफुक केन्द्र नै खोलेको उनीहरुले थाहा पाए । एक महिनाअघि मदनलाई लिएर बाबुआमा हात्तीलेटको झारफुक केन्द्र पुगे र आफूलाई पशुपति बाबा बताउने पूजा लामा झारफुक केन्द्रकी हर्ताकर्ता रहेछिन् । अरु उनका सहयोगी पनि थिए । उनीहरुले बच्चालाई कतै लैजान पर्दैन, यहीँ ठीक हुन्छ भने । बच्चालाई घर लैजान पनि दिएनन् । त्यहीँ भर्ना गरेर राखे ।

झारफुक केन्द्रमा भर्ना गरेर राखिएका मदनलाई भेट्न उनको आमा बाहेक अरुलाई बन्देज लगाइएको थियो । भित्तामा देवीदेवताको फोटो टाँसिएको कोठामा बच्चालाई सुताएर लामा लगायतका धामीहरुले झारफुक, अक्षतापाती र अरु विधिले उपचार गरे । तर बच्चालाई अझै ठीक भएन ।छोरोलाई झन् झन् व्यथाले च्यापेको थाहा पाएपछि बाबुआमाले आफन्तहरुलाई भने । बच्चाको भिनाजु पर्ने एकजनाले काठमाडौं लैजान पर्छ भनेर गएको बुधबार बसको टिकट काटे । अनि बच्चा लिन झारफुक केन्द्रमा गए । तर धामी लामाले बच्चा लैजान दिइनन् । यहीँ ठिक हुन्छ, अस्पताल लगे बच्चा बाटोमै मर्न सक्छ भनिन् । फेरि बाबुआमाले पत्याए ।तर, जे नहुनु थियो, त्यही भैदियो । झारफुक केन्द्रमा उपचारका लागि भर्ना गरेर राखिएका १२ वर्षीय मदनको शुक्रबार बिहान मृत्यु भयो । बाबुआमा र आफन्त रोइकराई गरे । समयमै अस्पताल नलगेर ठूलो गल्ती भयो भनेर उनीहरु अहिले पछुताउँदैछन् । अशिक्षित आमाबाबुको कारण १२ वर्षीय मदनले उपचार नपाई ज्यान गुमाउनुपर्यो । झारफुक गर्ने धामी लामा र उनका चारजना सहयोगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनलाइनखबरलाई जानकारी दिएको छ ।
झारफुक गर्दा बालकको मृत्यु, ‘पशुपति बाबा’ सहित पाँच पक्राउ - See more at: http://www.onlinekhabar.com/2013/05/74370/#sthash.aMcELyKE.dpuf
झारफुक गर्दा बालकको मृत्यु, ‘पशुपति बाबा’ सहित पाँच पक्राउ - See more at: http://www.onlinekhabar.com/2013/05/74370/#sthash.aMcELyKE.dpuf
झारफुक गर्दा बालकको मृत्यु, ‘पशुपति बाबा’ सहित पाँच पक्राउ - See more at: http://www.onlinekhabar.com/2013/05/74370/#sthash.aMcELyKE.dpuf

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID