Sunday 3 February 2013

छोरीको बिहेकार्ड बाँड्न हिंडेकाको हत्या

दधिकोट (भक्तपुर), माघ २० - छोरीको विवाहको कार्ड बाँड्न हिंडेका सिरुटार-७ का रामेश्वर राउतको दधिकोट-६ चित्रपुर फाँटमा हत्या भएको छ । 

४५ वर्षीय राउतको घरबाट करिब एक किलोमिटर दूरीमा हत्या भएको हो । ढलका लागि प्रयोग गरिने सिमेन्टको हिमपाइपमा आगो लगाएर पूर्णरूपमा जलेको अवस्थामा उनको शव शनिबार बिहान साढे नौ बजे स्थानीयले फेला पारेका हुन् । उनकी जेठी छोरी लक्ष्मीको सोमबार विवाह तय भएको थियो ।

दधिकोटको चित्रपुर हुँदै सिरुटार गाविस कार्यालय निस्कने कच्ची मोटरबाटोको एकान्त स्थानमा घटना भएको छ । घटनास्थलनजिकै उनले चढ्ने नीलो रङको बा३८प ५२५९ नम्बरको पल्सर मोटरसाइकल पनि भेटिएको छ । सडकको बायाँतर्फको गहुँबारीमा रहेको हिमपाइपमा राउतको शव भेटिएको हो । त्यस्तै शव भएको पश्चिमतर्फको सात मिटरको दूरीको बाटो छेउमा स्ट्यान्ड लगाएर मोटरसाइकल राखिएको छ । हेलमेट लुकिङ ग्लासमा राखिएको छ । घर जाने बाटोतर्फ फर्काएर बाटोमा साइड लगाएको मोटरसाइकलको साँचो फेला नपरेको प्रहरीले जनाएको छ ।

'कार्ड बाँड्दा ढिलाइ भएर कतै आफन्तकहाँ बसे होलान् भन्ने भयो,' मृतकका भतिज अर्जुननर्सिङ राउतले भने,'फोन सम्पर्क गर्दा नौ बजेसम्म सम्पर्क हुन सकेन भन्थ्यो, त्यसपछि स्विच अफ भयो । शनिबार बिहान साढे नौ बजेतिर सडकमा मोटरसाइकल देखेपछि खोजी हुँदा शव भेटियो ।' उनको शव आगोले डढेर चिन्न नसक्ने अवस्था छ । कम्बरमुनिको भाग छुटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै देब्रे खुट्टा पूर्णरूपमा जलेको छ । कम्मरमुनिको भागमा धारिलो हतियार प्रयोग गरेकोजस्तो देखिए पनि घटनाको अध्ययन गर्न पुगेका शिक्षण अस्पतालका चिकित्सक रिजेन श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट हतियार प्रयोग भएको नदेखिएको बताए । 'हतियार प्रयोग भएको देखिँदैन,' उनले भने, 'पोस्टमार्टम भएपछि सम्पूर्ण विवरण आउँछ ।'

मृतकको कालो ज्याकेट मोटरसाइकल भएको स्थानबाट केही पर भेट्टएिको छ । ज्याकेटमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको एक लाख रुपैयाँको चेक, ६ हजार ८ सय ९० रुपैयाँ नगद, बिहेको निम्तो कार्ड, डायरी, शुक्रबार टेलिकममा बिल तिरेको कार्ड, नागरिकता, लाइसेन्स, मोटरसाइकलको बिलबुकसमेत भेटिएको छ । त्यस्तै अन्ना क्यासिनोको बिजनेस प्रोमोटर दर्जा उल्लेख भएको कार्डसमेत भेटिएको प्रहरीले जनाएको छ । 'मृतकको खल्तीमा चेक र रकम भएकाले पैसाका लागि हत्या नगरेको हुनसक्छ,'अनुसन्धानमा खटिएका एक प्रहरीले भने । ज्याकेट नजिकैको कान्लामा हँसिया हथौडा अंकित रातो झन्डासमेत भेटिएको छ ।

मृतकका दुई छोरी र एक छोरा छन् । एक वर्षअघि इराकमा रोगजारीबाट फर्केका मृतकका दाइ रामभक्त राउतले बताए । मृतकका भतिज श्रीचन्द्र राउतले घरको छतबाट खुला चौरमा शुक्रबार राति साढे नौ बजेतिर आगो बलेको देखेको बताए ।

'कहिलेकाहीँ केटाहरू भेला भएर आगो बाल्थे, हिजो पनि त्यही होला भन्ने लाग्यो,' उनले भने,'यस्तो घटना भएको होला भन्ने सोचेनौं ।' विवाहको सल्लाह गर्न भेटेका उनले विवाहको कार्ड बाँड्ने कार्य शुक्रबार सकाउने र शनिबार दिनभर सेल पकाउने भएको श्रीचन्द्रले बताए ।

मृतक राउतको अन्तिमपटक साँझ पाँच बजे परिवारका सदस्यसँग फोन कुराकानी भएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी दिलीप चौधरीले बताए । प्रहरी स्रोतका अनुसार राउतले प्रयोग गरेको मोबाइल विवरणअनुसार शुक्रबार दिउँसो २ बजेर ४० मिनेटसम्म दधिकोटको गाम्चामा भएको देखिन्छ । यो घटनास्थलनजिकै पर्छ । त्यस्तै साँझ ५ बजेर १८ मिनेटमा ग्वार्कोमा मोबाइल स्विच अफ देखिएको स्रोतले जनाएको छ । अनुसन्धानमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा, केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी), भक्तपुरको प्रहरी टोली खटिएका छन् । हत्या कसले र के कारणले गर्‍यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 हत्यापछि हिमपाइपभित्र कुन पदार्थ राखेर जलाइयो भन्ने परीक्षणबाट थाहा हुने चिकित्सक श्रेष्ठले बताए । त्यस्तै शवसँगै प्लास्टिकमा मदिराको बोतल भेटिएको छ । एसपी चौधरीले घटनाको प्रकृति अध्ययन गर्दा रिसिइबीका कारण हत्या भएको हुनसक्ने बताए ।

'तत्काल वा पुरानो रिसिइबी हुनसक्छ,' उनले भने, 'मृतकले चढेको मोटरसाइकल सडक छेउमा रोकेर केहीबेर भनाभन हुँदा मनमुटाव भएपछि हत्या गरेको हुनसक्छ ।' घटनाको छानबिन भइरहेको उनले बताए । चौधरीले शव भेटिएको स्थलमै हत्या भएको हुनसक्ने अनुमान गरे पनि झगडा भएपछि कतै पनि घसारिएको छैन । आगोले डढेर बाँकी रहेको कपडामा रगत छ । घटना हेर्न आएका सर्वसाधारणले राउतको अन्यत्र हत्या गरी यहाँ राखेको हुनसक्ने अनुमान गरे ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID