Friday 1 February 2013

अवैध मोबाइल छ्याप्छ्याप्ती



काठमाडौं, माघ १७ - सरकारी उच्चपदस्थ हुन वा व्यवसायी 'ठूलाबडा' को उपस्थिति भएका ठाउँमा एप्पलको आइफोन मोबाइल सेट छ्याछ्याप्ती देखिन्छन् । तर मुलुकमा भित्रिएका अधिकांश आइफोन अवैध हुन् ।

मोबाइल भित्र्याउँदा आयातकर्ताले दूरसञ्चार प्राधिकरणबाट 'टाइप अप्रुभल' लिनुपर्छ । आयात गर्न खोजिएको मोबाइल सक्कली, अन्तर्राष्ट्रिय प्राविधिक र सुरक्षा मापदण्ड पूरा भएको विश्वस्त भए प्राधिकरणले टाइप अप्रुभल दिन्छ । तर मुलुकमा एप्पलको आधिकारिक बिक्रेता नभएका कारण टाइप अप्रुभल लिइएको छैन । विदेश -खासगरी अमेरिका) बाट फर्किंदा ल्याउने वा आफन्तले ल्याइदिएका मोबाइलको भरमा बजारमा छ्याछ्याप्ती आइफोन छन् । 'विमानस्थल भन्सार प्रमुख हुँदा व्यापारिक प्रयोजनका लागि आइफोन आयात भएको थाहा पाइएन,' भन्सार विभागका उपमहानिर्देशक तोयम राया भन्छन्, 'विदेशबाट फर्किंदा एकाध सेट ल्याइएको हुनपर्छ ।' विदेशबाट फर्किंदा एउटा मोबाइल भन्सार छुटमा ल्याउने सुविधा छ । तर बजारमा आइफोन किन्न पनि पाइन्छ । एकै जनाले दर्जनौं मोबाइल ल्याएर बजारमा बिक्रीसमेत गरेकाले नेपाली उपभोक्ताका लागि आइफोन अभाव नभएको हो । एप्पलले आधिकारिक बिक्रेता पनि नबनाएको र नेपालका लागि उपयुक्त मोबाइल उत्पादन पनि नगरेकाले आइफोन ल्याएपछि १ हजार रुपैयाँभन्दा बढी खर्च गरेर अनलक गर्नुपर्ने अवस्था छ ।

आममानिसको आवश्यकताको वस्तु बनिसकेको मोबाइलको अवैध कारोबार नियन्त्रण होस् भनेरै आयातमा भन्सार महसुल शून्य गर्नुका साथै तिरेको मूल्य अभिवृद्धि कर -भ्याट) ६० प्रतिशत फिर्ताको सुविधा दिइएको छ । बिलबिजक जारी गरी खरिदकर्ताबाट भ्याट असुल गरेपछि आयातकर्ताले भन्सारमा तिरेको भ्याटको ६० प्रतिशत रकम फिर्ता पाउँछन् । तैपनि मोबाइल बजारको उल्लेख्य हिस्सा अवैध रूपमा भित्रिएका मोबाइलले लिएका छन् । चिनियाँ मोबाइलको बजार अंश २० प्रतिशतभन्दा बढी रहेको अनुमान छ । तर तिनको ठूलो हिस्सा अवैध रूपमा भित्रिएका छन् । 'थोरै सस्तो छ भने सामान किन्न सीमापारि पुग्ने चलन सीमावर्ती क्षेत्रमा छ,' कलर्स मोबाइलका आधिकारिक बिक्रेता रोहित गुप्ता भन्छन्, 'भारत र चीनका सीमावर्ती बजारमा मोबाइल यहाँभन्दा सस्तो

छ ।' भारतमा मोबाइलमा ४ प्रतिशत मात्र भ्याट लगाइएको छ ।

टाइप अप्रुभल अनिवार्य गरेपछि चिनियाँ बजारबाट चोरी आयात गर्ने प्रवृत्ति ह्वात्तै बढेको तातोपानी भन्सारका प्रमुख निर्मलहरि अधिकारी बताउँछन् । उनका अनुसार बितेका दुई आर्थिक वर्षमा १८ करोड रुपैयाँ बराबरको चिनियाँ मोबाइल तातोपानी नाका हुँदै भित्रिएको थियो । तर चालू आर्थिक वर्षको ६ महिना पुग्न लाग्दा १ करोड रुपैयाँ जतिको मात्र मोबाइल भन्सारबाट आएको छ । 'तर बजारमा चिनियाँ मोबाइलको कमी छैन,' उनले भने । व्यवसायीले अरू सामान ढुवानी गर्न सीमापारि पुर्‍याइएका गाडीमा फल्स बटम बनाएर मोबाइल ल्याउने गरेका छन् । यस्तै चोरी बाटोबाट भरियालाई बोकाएर भित्र्याउने गरिएको छ । विद्यार्थी भरियाका रूपमा प्रयोग भइरहेको उनी सुनाउँछन् । 

अवैध रूपमा भित्र्याइएका मोबाइल सेट लुकाउन मिनी ट्रकमा बनाइएको फल्स बटमले राजस्व अनुसन्धान विभागका कर्मचारीलाई छक्क पार्‍यो । तातोपानीबाट अवैध तरिकाले भित्रिएका मोबाइलसमेत बोकेर आएको बा२ख ३८०० नम्बरको मिनी ट्रकलाई गत ७ गते काभ्रेको साँगामा प्रहरीले बरामद गरी राजस्व अनुसन्धानमा बुझाएको थियो । चिनियाँ बजारबाट अवैध रूपमा भित्रिएका ४ सय ६३ थान मोबाइल, ५ सय १८ थान ब्याट्री र ५ वटा कभर प्रहरीले काभ्रेको साँगामा बरामद गरेको थियो । 'गाडीका कुनाकाप्चामा मोबाइल लुकाउन फल्स बटम बनाइएको थियो,' राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक दामोदर रेग्मी सुनाउँछन्, 'सुराकीबाट पक्का खबर नपाउने हो भने बरामद गर्न नसकिने रहेछ ।'

तर अवैध रूपमा भित्रिने कारण टाइप अप्रुभल मात्र होइन । गत वर्षको मंसिरमा तातोपानीमा राजस्व गस्ती प्रमुखको जिम्मेवारी पूरा गरी फर्किने क्रममा सशस्त्रका डीएसपी हर्क पन्तबाट ७ सय ६१ थान चोरीका मोबाइल बरामद भएको थियो ।

'टाइप अप्रुभल अनिवार्य गरे पनि बजार अनुगमन हुन नसक्ता अवैध कारोबार प्रोत्साहित भयो,' सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजका प्रेसिडेन्ट डिकेश मल्होत्रा भन्छन्, 'सम्बद्ध निकायले बजार अनुगमन गरी अवैध कारोबारलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।'

प्रमुख १० भन्सार नाका (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगन्ज, सुख्खा बन्दरगाह, काँकडभिट्टा, तातोपानी, विराटनगर, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली) बाट २०६८/६९ मा ५ अर्ब ६८ लाख रुपैयाँ बराबरको १९ लाख ३४ हजार मोबाइल सेट भित्रिएको थियो । आव २०६७/६८ मा ४ अर्ब ४३ करोड ५८ लाख रुपैयाँको १६ लाख ३८ हजार सेट भित्रिएको थियो । तर बजारको मागअनुसार भन्सारमा देखिएको संख्या निकै कम भएको व्यवसायी बताउँछन् । दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्याको ६१ प्रतिशत (१ करोड ६१ लाख) मोबाइल बोक्ने भइसकेको छ । एकाध वर्षमा नयाँ सेट किनिने र एकभन्दा बढी मोबाइल प्रयोग गर्नेको संख्या पनि बढ्दै गएकाले वर्षमा १९ लाख मोबाइल आयात हुनु भनेको अवैध बजार ठूलो भएको प्रमाण हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID