Sunday 3 February 2013

फेरि किशोरी बलात्कृत

महेन्द्रनगर, माघ १७ - छिमेकी गाउँमा बिहे हेर्न गएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोधारा-४ का विकास थापा सोमबार र बबी राना मंगलबार पक्राउ परेका हुन् । किशोरीलाई ललाईफकाई लगेर अपराधमा सघाएकी सोही स्थानकी युवती सोनम राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महाकालीपारिको दोधारा-४ की १४ वषर्ीया ती किशोरी गत शनिबार राति वडा नं १ स्थित ललित गुरुङको घरमा बिहे हेर्न गएकी थिइन् । 'उनीसँग चिनजान भएकी सोनमले फकाएर नजिकैको विद्यालयमा पुर्‍याएकी रहिछन्,' डीएसपी वृषबहादुर रावलले भने, 'सोनमले उनलाई छक्याएर विद्यालयमै छोडेर आएपछि त्यहाँ रहेका दुई युवकले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।' त्यसपछि रुँदै घर जान लागेकी उनलाई स्थानीय एकजनाले पुर्‍याइदिएका थिए । उनले आफूमाथि भएको घटनाबारे आमालाई बताएपछि भोलिपल्ट परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।

डीएसपी रावलका अनुसार पीडित किशोरी कक्षा ८ मा पढ्छिन् । करिब १५/१६ वर्षका ती युवकहरूले भने सहमतिमै यौन सम्पर्क राखेको प्रहरीलाई बयान दिएका छन् । प्रचलित कानुनअनुसार १६ वर्षमुनिकीसँग सहमतिमै यौन सम्पर्क राखे पनि जबर्जस्ती करणी ठहरिने डीएसपी रावलले बताए ।

उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा अघि बढाइएको उनले जनाए । किशोरी र दुबै युवककको मंगलबार मेडिकल परीक्षण गरिए पनि रिपोर्ट आइनसकेको उनले बताए । 'रिपोर्ट आएपछि कारबाहीका लागि थप प्रमाण जुटाउन सहज हुनेछ,' उनले भने ।

यसैबीच बुटवल संवाददाताका अनुसार पार्किङ गरिएको बसमा किशोरीलाई सामूहिक बलात्कार गर्नेलाई हदैसम्म कारबाहीको माग राख्दै अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । पीडित किशोरीको अवस्था बुझ्न अधिकारकर्मी बुधबार इलाका प्रहरी कार्यालय पुगेका थिए ।

बुटबलमा क्रियाशील महिला समानताका लागि सञ्चार अभियान, सञ्चारिका समूह लुम्बिनी, महिला विकास कार्यालय, अखिल महिला संघ, महिला अधिकार सञ्जाललगायत प्रतिनिधिले पीडितको न्यायका लागि दबाब दिएका हुन् । सामाजिक सद्भाव र सुरक्षा संयन्त्र मजबुद भएको बुटवलमै यसरी बलात्कार हुनुले कलंक थपिएको उनीहरूले बताए ।

प्रहरीको सुरक्षा संयन्त्र र स्थानीयको संवेदनामाथि प्रश्न उठेको भन्दै उनीहरूले संलग्नलाई कडा कारबाही नभए विरोधमा उत्रने चेतावनी दिए ।

पुस ७ गते दाङबाट कामको खोजीमा यहाँ आएकी रोल्पाकी किशोरी साँझ बसपार्कमा बलात्कारमा परेकी थिइन् । अधिकारकर्मीहरूले शारीरिक तथा मानसिक रूपमा कमजोर भएकी उनको थप उपचारका लागि आग्रह गरे । के आई नेपालको संरक्षणमा उपचार गराइरहेकी किशोरी नजिक कोही जाँदा तर्सिने गर्छिन् । पुरुष देख्यो कि काप्न थाल्छिन् । बिर्सने गरेकी छिन् । दुई सातासम्म पाठेघरबाट रगत बगेको संस्थाले जनायो ।

अधिकारकर्मी इन्दिरा आचार्यले एक महिना बितिसक्दासमेत प्रहरीले घटना सार्वजनिक नगर्ने र किशोरीको थप उपचारका लागि संवेदना नदेखाउनुले नियतमाथि प्रश्न उठेको बताइन् । बालिकाको थप उपचारका लागि अन्यत्र लैजानसमेत पहल गर्न उनले आग्रह गरिन् । बलात्कारमा संलग्न चारमध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । एकजना फरार छन् । सिर्जनशील समाज रुपन्देहीकी अध्यक्ष रिमा बीसीले फरार अभियुक्तलाई तत्काल पक्राउ गरेर कानुनी दायरा ल्याउन आग्रह गरिन् ।

प्रहरी निरीक्षक रामेश्वर कार्कीले किशोरीको न्याय र उपचार दुवैलाई प्राथमिकता दिइएको बताए । उनको वास्तविक ठेगाना पत्ता लगाउन प्रहरी बुधबार उनी पढेको विद्यालय र काकाकाकीको घरमा गएको छ ।

बलात्कार अभियोगमा पक्राउ खोटाङ -कास)- बलात्कार अभियोगमा यहाँ एक युवक पक्राउ परेका छन् । स्थानीय युवतीलाई कोही नभएको अवस्थामा मंगलबार साँझ कोठामा प्रवेश गरेर बलात्कार कोसिस गर्ने नेर्पा-५ का दिवन राई बुधबार साँझ पक्राउ परेको खोटाङका प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID