Tuesday 1 January 2013

राजधानीवासीले केबुलकारको मजा लिन पाउने

१६ पुस, काठमाण्डौ । केबुलकार चढ्न चितवनको कुरिनटार नै पुग्नुपर्ने राजधानीवासीले अब यहीँ नै केबुलकारको मजा लिन पाउने भएका छन् । अबको दुई वर्षभित्रमा राजधानी काठमाडौँमै केबुलकार निर्माण भइसक्ने गरी काम सुरु भएपछि राजधानीवासीलाई केबुलकार चढ्न अन्यत्र जान नपर्ने भएको छ । काठमाडौँको थानकोट गाविसले करिब दस मिनेटको यात्रामा कीर्तिपुरमाथिको ऐतिहासिक चन्द्रागिरि डाँडालाई जोड्ने भएको छ ।

थानकोट गाविसको गोदाम नजिकैबाट सुरु हुने सो केबुलकारको यात्रा ऐतिहासिक चन्द्रागिरि डाँडासम्म पुग्ने र यसको दुरी साढे दुई किलोमिटरको हुनेछ । गोदामबाट चन्द्रागिरिसम्म सडकमार्गबाट जाँदा भने सात किलोमिटर दूरी छ । सो यात्रा कच्चीबाटोबाट हुनेहुँदा त्यति सजिलो छैन । हिँडेरै पुग्नका लागि करिब तीन घन्टा हिँड्नुपर्छ । तर केबुलकारबाट भने १० मिनेटमै पुगिन्छ ।नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले एकीकरणकै अभियानका क्रममा चन्द्रागिरि डाँडाबाट हेर्दा काठमाडौँ उपत्यका साह्रै राम्रो देखेपछि सोही डाँडाबाट आˆना फौज प्रवेश गराई पहिला कीर्तिपुरमाथि आक्रमण गरेका थिए । मकवानपुरमा विवाह गरेका उनले चन्द्रागिरिकै बाटो भएर आˆनो मावली नुवाकोट जाने क्रममा सो डाँडोको बाटो हिँडेका र त्यसै समयमा सो डाँडोबाट देखिएको काठमाडौँको दृश्यबाट लोभिएपछि काठमाडौँ जित्ने प्रण गरी आक्रमण गरेको इतिहासमा पाइन्छ ।
थानकोट गाविसको गोदामदेखि चन्द्रागिरि डाँडासम्मको उचाइ दुई हजार ५४० मिटर रहेको छ । सो स्थानबाट काठमाडौँ उपत्यका र वरपरका सम्पूर्ण हिमाल स्पष्टसँग देख्न सकिन्छ । सो डाँडाबाट देखिने काठमाडौँ उपत्यका, मकवानपुरको कुलेखानी, नजिकैको चित्लाङ गाउँ र सीमभञ्ज्याङ पनि अत्यन्त मनमोहक दृश्य हुन् । पर्यटकीय दृष्टिले सो स्थान अत्यन्त आकर्षक रहेको तर बाटोको अभावमा काठमाडौँबाट टाढा रहेकाले काठमाडौँवासीका लागि बिदाको समय बिताउन, मनोरञ्जन गर्न तथा पर्यटकलाई हिमाल हेर्न नगरकोट नै जानुपर्ने भएकाले सो स्थानको विकासका लागि केबुलकारको अवधारणा ल्याइएको लगानीकर्ताहरुको भनाइ छ ।
सो क्षेत्रमा केबुलकार निर्माणका साथै तारे होटल र रिसोर्ट पनि बनाइनेछ । त्यसका लागि काठमाडौँ फनपार्क प्रालि कम्पनी दर्ता गरी करिब ७०० रोपनी जग्गा लिजमा लिई प्रारम्भिक कार्य सकिएको छ । आगामी दुई वर्षभित्रमा सो कार्य पूरा भइसक्ने बताइएको छ । सो कम्पनीका प्रमुख लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रराज ढकाल उक्त क्षेत्रमा केबुलकार मात्र नभई पर्यटकीय पूर्वाधारका विभिन्न व्यवसाय सञ्चालन गरिने र चन्द्रागिरि डाँडालाई नेपालको आन्तरिक एवम् वैदेशिक पर्यटकका लागि एक प्रमुख गन्तव्यका रुपमा विकास गरिने बताउनुहुन्छ ।
सो केबुलकारको स्टेसनका रुपमा थानकोटको गोदाम नजिकै रहेको स्थानमा मनोरञ्जन पार्क खोलिने र त्यहाँ होटल तथा रेस्टुरेन्ट पनि स्थापना गरिने बताइएको छ । सो आयोजनाको हालको लागत रु दुई अर्ब रहेको छ । उक्त सम्पूर्ण आयोजनाको प्रारुप भारतको महिन्द्रा कन्सल्टिङ समूहले गरिरहेको छ । तर केबुलकार निर्माणका लागि भने स्विट्जरल्याल्ड र अस्ट्रेलियाली कम्पनीहरुसँग कुराकानी भइरहेको कम्पनीका अर्का लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताउनुभयो ।
सो केबुलकार एक घन्टामा बढीमा एक हजारजना बोक्न सक्ने गरी निर्माण गरिनेछ । सुरुमा यसले ५०० जना मात्र बोक्ने गरी निर्माण गरिने भए पनि पछि यसको क्षमता बढाउन सकिने गरी पूर्वाधार भने हजारजना नै बोक्ने गरी निर्माण गरिने बताइएको छ । सो केबुलकारले एकतर्फी आˆनो यात्रा बढीमा १० मिनेटमा पूरा गर्ने बताइएको छ । यसको भाडादर भने अहिले नै तोकिसकिएको छैन । केबुलकारसहित सो सम्पूर्ण कम्पनीका लगानीकर्ताहरु आइएमई समूहका हेमराज ढकाल, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, उत्तम लन्डन कम्पनीका उत्तम नेपाल, हाथवे इन्भेस्टमेन्ट कम्पनीका अम्बिकाप्रसाद पौडेल र एलिट क्यापिटलका ज्ञानबहादुर जिसी रहनुभएको छ ।
सो कम्पनीले आन्तरिक स्रोत परिचालनबाट ६० प्रतिशत र संस्थापक लगानीकर्ताहरुबाट ४० प्रतिशत पुँजी जुटाइने बताएको छ । उक्त केबुलकारको निर्माण गर्नुअघि चन्द्रागिरिमा महादेव मन्दिर बनाउने योजना रहेको पौडेलले बताउनुभयो । स्थानीयहरुले भालेश्वर महादेव नाम दिएको सो स्थानमा रहेका महादेवलाई इच्छेश्वर महादेव पनि भनिन्छ ।पृथ्वीनारायण शाहले सबैभन्दा पहिला सो स्थानमा आउँदा उक्त महादेवको दर्शन गरेका र काठमाडौँ उपत्यकाको विजयका लागि उनले तिनै महादेवसँग प्रार्थना र बरदान मागी आक्रमण सुरु गरेका थिए । उनको सो कामनाबमोजिम नै काठमाडौँ उपत्यकामाथि विजय हासिल गरेकाले ती महादेवलाई इच्छा पूरा गरिदिने महादेवका रुपमा लिइन्छ । साथै स्थानीयहरु लामो समयसम्म खडेरी परेमा तथा सन्तान नभएकाहरुले सन्तान प्राप्तिको कामनाका लागि पनि त्यहाँ जाने गर्दछन् ।
सो महादेव मन्दिरमा प्रत्येक वर्ष वैशाख महिनाको पूणिर्मामा मेला लाग्ने गर्दछ । सो स्थानमा स्थानीयको निकै ठूलो उपस्थिति रहने भए पनि त्यहाँ अहिलेसम्म त्रिशूलमात्र रहेको र मन्दिर बनाउन सकिएको छैन । त्यसैले सो स्थानमा सबैभन्दा पहिला मन्दिर बनाउने योजना रहेको पनि बताइएको छ । सो डाँडाबाट केही तल पर्ने चित्लाङमा होम-स्टेको विकास भइरहेको र सो क्षेत्रमा पर्यटकको आगमन निकै हुने भए पनि सवारीसाधन एवम् बस्ने होटलको राम्रो व्यवस्था नभएकाले चन्द्रागिरिमा पर्यटक पुग्न कठिन भइरहेको अवस्थामा केबुलकार र सुविधासम्पन्न होटल बन्ने योजनापछि भने सो क्षेत्र एक अत्यन्त आकर्षक पर्यटन गन्तव्य हुने विश्वास गरिएको छ ।
यसका साथै नेपालको आन्तरिक पर्यटक एवम् काठमाडौँवासी स्वयम्लाई पनि बिदा मनाउन, मनोरञ्जन र वनभोजजस्ता कार्यक्रमका लागि हाल नगरकोटमात्र एक विकल्प रहेको अवस्थामा त्यस क्षेत्रमा प्रस्तावित यी सम्पूर्ण योजनाले काठमाडौँवासीको ध्यान पनि तान्ने आशा गर्न सकिन्छ । रासस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID