Sunday 30 December 2012

भारतले मिलाउँदैन, दलहरू नै मिल्नुपर्छ ः राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले भारतले नेपालमा छिट्टै राष्ट्रिय सहमतिको सरकार गठन होस् भन्ने चाहना राखेको जनाउ दिएका छन् । छिमेकी मित्रराष्ट्र भारतको पाँचदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका राष्ट्रपति यादवले अन्तर्राष्ट्रिय विमानस्थलमा सो जानकारी दिएका हुन् ।
‘भारतले मिलाउँदैन, दलहरू आफैं मिल्नुपर्छ,’ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै विमानस्थलमा राष्ट्रपति यादवले भने, ‘भारतले राष्ट्रिय सहमतिको सरकार चाहेको छ ।’ भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति यादवले राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीमा सहमति गर्न विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलमा बोलाएर छैटौं पटक ५ दिनको म्याद दिएका थिए । फर्किनुअगावै सहमति जुट्ने राष्ट्रपतिले विश्वास व्यक्त गरे पनि त्यसयता दलहरूबीच औपचारिक संवादसमेत हुन सकेन । उनले दलहरू मिलेपछि मात्रै छिट्टै राष्ट्रिय सरकार बन्न सक्ने बताए । ‘हामी सबै मिलेर दलहरूलाई पनि मिलाउनुपर्छ,’ संक्षिप्त प्रतिक्रियामा राष्ट्रिय सरकारबारे थप प्रस्ट्याउँदै राष्ट्रपति यादवले भने । छैटौं पटकको समयसीमामा पनि कुनै सहमति नजुटेको विषयमा भने उनले कुनै प्रतिक्रिया जनाएनन् । राष्ट्रपति कार्यालय स्रोतले आइतबार राष्ट्रपतिले दलका नेताहरूलाई सूचित गरेर सहमतीय सरकार गठनका लागि थप अग्रसरता लिनेछन् ।
‘जे गर्नुहुन्छ, राष्ट्रपतिज्यूले आइतबारपछि गर्नुहुनेछ, दलहरूसँग पुनः संवाद र छलफललाई निरन्तरता दिने संकेत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राजधानीसँग भने, ‘सहमतीय सरकार गठन प्रक्रिया जारी रहेकाले उहाँ (राष्ट्रपतिज्यू)ले त्यसैलाई निरन्तरता दिनुहुनेछ ।’ उनले शनिबार मात्र स्वदेश फिर्ता भएका कारण राष्ट्रपतिले आइतबारबाट मात्रै यस विषयमा आवश्यक परामर्श लिने बताए । पाँचदिने भ्रमणका सिलसिलामा राष्ट्रपति यादवले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री डा. मनमोहन सिंह, सत्तारूढ गठबन्धन तथा कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, रक्षामन्त्री एसके एन्टोनी थोनी, गृहमन्त्री सुशीलकुमार सिन्धे, बिहारका मुख्यमन्त्री नितिशकुमार, भाजपाका वरिष्ठ नेता लालकृष्ण आडबाणी, उच्चस्तरीय सरकारी अधिकारीलगायतका महŒवपूर्ण व्यक्तिसँग भेटवार्ता गरेका थिए ।
उच्चस्तरीय भेटमा भारतीय पक्षले राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि चालेको कदम र दलहरूबीच सहमति जुट्न नसक्नुका कारणलगायतका विषयमा महŒवपूर्ण जिज्ञासा राखेको थियो । त्यसक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित भारतीय नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनका पक्षमा चालिएको कदमको समर्थन जनाउँदै नेपालमा चुनावमार्फत छिट्टै संविधान बनेको हेर्न चाहेको भन्दै शुभेच्छा प्रकट गरेका थिए । आफ्नो भारत भ्रमणअगावै सहमतीय सरकार गठनका निम्ति राष्ट्रपतिले शीर्ष नेताहरूलाई बोलाएरै बारम्बार आग्रह गरेका थिए । राष्ट्रपति स्वदेश फर्केलगत्तै परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिको भ्रमणबाट नेपाल र भारतबीचको सदियौं पुरानो मैत्री सम्बन्ध अझ प्रगाढ बनेको उल्लेख गरेको छ ।
भारतीय विदेशमन्त्री खुर्सिदले पनि शुक्रबार नै नेपाली सञ्चारकर्मीलाई राष्ट्रपति यादवको भ्रमण सफल रहेको बताएका थिए । भारतीय विदेशमन्त्री खुर्सिदले राष्ट्रपति यादवसँग ५ पटक भेटवार्ता गरेका थिए । भारत भ्रमणमा रहँदा राष्ट्रपति यादवले वनारस हिन्दू विश्वविद्यालयबाट आफूलाई प्रदान गरेको डक्टर अफ लको मानार्थ उपाधि ग्रहण गरेका थिए । यस्तै, दिल्लीमा स्वास्थ्य परीक्षणसमेत गराएको राष्ट्रपति यादवले जानकारी दिएका छन् । २३ सदस्यीय राष्ट्रपति यादवको भ्रमण टोलीमा सिँचाइमन्त्री महेन्द्र यादव, राष्ट्रपतिपुत्री अनिता यादव, छोरा डा.चन्द्रमोहन यादव, बुहारी रेश्मी र नाति नमन यादवसमेत सहभागी थिए ।
यस्तै, परराष्ट्र मन्त्रालयका सचिव दुर्गाप्रसाद भट्टराई, शिष्टाचार महापाल डा.निरञ्जमानसिंह बस्न्यात, सहसचिव मणिराम ओझा, उपसचिव नारायण मैनाली, राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मी, राष्ट्रपतिका सल्लाहकारद्वय राजेन्द्र दाहाल र हरि शर्मा, स्वकीय सचिव ललित बस्नेत, सहायक रथी प्रदीपबहादुर सिंह, निजी चिकित्सक यादवदेव भट्ट, पाश्र्ववर्ती सरोज थापा, सुरेन्द्र खाती, विश्वराज दाहाललगायत पनि भ्रमणमा सहभागी थिए । राष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सरकारी उच्च अधिकारीहरूले स्वागत गरेका थिए । उनी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा गत सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID