धनगढी : धनगढीका चर्चित व्यवसायी गोपाल हमालको घरबाट तन्त्रमन्त्र गरेर ५१ तोला सुन लुटिएको छ । तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका हमालको धनगढी–४ स्थित घरबाट तन्त्रमन्त्र गर्नेले सुन लुटेका हुन ।
गत मंसिर २६ मा पोको पारेर राखिएको लकर लगाएको सबै गहना ५ दिनपछि खोलेर हेर्दा ढुंगा भेटिएपछि हराएको खुलासा भएको हो ।
हमाल घरमा नभएका बेला मनकामनाबाट आएको बताउने दुुई तान्त्रिक महिलाले उनकी पत्नी शारदा हमाललाई घरमा मसान लागेको भन्दै तन्त्रमन्त्र गरेर गहना चोरेका हुन । ती महिलाले १० तोलाको रानीहार सेट, सिक्री, हिराको सेट, चुरा, झुम्का, टप, औंठी, लकेट, हिराको औंठी र मोती सेटसहित ५१ तोला गहना लगेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार करिब २९ लाख रुपैयाँको गहना चोरी भएको छ । हमालले गहना चोरिएको थाहा भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका छन् । प्रहरीले पनि तान्त्रिकहरुले मोबाइल फोन प्रयोग गरेकाले खोजीमा सहज हुने प्रतिक्रिया दिएको छ ।
केही महिनायता सुदूरपश्चिमका कैलाली र कञ्चनपुर यस्ता घटना भईरहेका छन् । तर अहिलेसम्म प्रहरीमा उजुरी परेको थिएन । तन्त्रमन्त्रमा विश्वास गरी लुटिएको उजुरी गर्दा इज्जत जाने डरले उजुरी नदिएको प्रहरीको भनाइ छ ।
यसो भन्छिन् शारदा हमाल
मंसिर २५ गते दिउँसोको समय थियो । छोरी आरती र म घरमा थियौं । छोरीको टाउको दुखेकाले उ सुतेकी थिई । आरती जहिले पनि केही न केही विरामी भई राख्ने । मैले त्यसका लागि धेरै जोखाना हेराउने गरिसकेकी थिएँ । औषधी त कति हो कति ? तर अनेक गर्दा पनि निको भईरहेको थिएन ।
मेरो घर पर्खालले घेरिएको । २५ गते दिउँसो गेटमा दुई महिला आएको देखेपछि को आएछन भनेर हेर्न गेटमा गएँ । दुबैजनाले धनगढीको नैनादेबी मन्दिरमा हुने सन्तोषी माताको पूजाका लागि चन्दा संकलनमा आएको बताए ।
सन्तोषी माताको चन्दाका लागि मैले केही रकम दिएँ । रकम दिन गेटमा गएका बेला, एक जनाले तपाइँको घरमा त मसान लागेको रहेछ । घरमा अशान्ति हुन्छ होला, तपाइँको छोरी विरामी भईराख्छिन् होला भने । ब्यापार ब्यवसायमा पनि राम्रो प्रगति भइरहेको छैन । धन आएपनि स्वाट्टै खर्च भईहाल्छ होला ...के के भने ।
हुन पनि अमेरिकामा करोडौं खर्च गरेर ब्यवस्थापनमा स्नातक गरेर फर्केकी छोरी आरतीलाई केही बिसन्चो भइरहन्थ्यो । मलाई पनि यी माताले त धेरै कुरा फटाफट भनिन भन्ने लाग्यो । तपाइँको घरमा पुजा गर्यो भने मसान ठीक भईहाल्छ भनी । विश्वास न हो मैले, छोरीको स्वास्थ्यका लागि पूजा गरिदिन आग्रह गरे ।
एउटीले आज पूजा त हुदैन भनी । एकजना पातली २७÷२८ वर्षकी थिइ । कुर्ता सलवार लगाएर सल ओढेकी थिइ । अर्की अलि मोटो ३२÷३४ वर्षकी । पातलीले आफू माता भएको बताई । धनगढीकै नैनादेबी मन्दिरमा बसिरहेकाले मंसिर २६ गते विहान आउने भने ।
मैले पनि आउन आग्रह गरेँ । उनीहरुले एनसेलको फोन पनि दिए । हामीलाई केही सामान जुटाउन भनिएको थियो । तर उनीहरुले दिएको लिष्टको समान बजारमा कहीँ पनि पाइएन । छोरीले फोन गरेर सामान नपाएको बताएपछि उनले केही सामान आफुहरुसँग रहेको तर अर्काका लागि तयारी गरेको बताए । तर उनीहरुले केही खर्च लाग्ने र त्यो सामान दिने भने ।
तर छोरी र मलाई यो कुरा पतिसहित कुनै पनि पुरुषलाई नबताउन भनेकाले हामीले घरमा सल्लाह पनि गरेनौं । मसानको पूजा गोप्यरुपमा गर्नुपर्छ भनँे । हामीलाई पनि ठिकै होला जस्तो लाग्यो र, घरका पुरुषलाई जानकारी गराइएन ।
मंसिर २६ गते विहान १० बजेतिर दुबै आए । पूजा सामाग्रीको साढे ११ हजार रकम लाग्ने बताए । हामीसँग रकम थिएन । आरतीले साथीलाई साढे ११ हजार रकम तुरुन्त चाहियो भनेर मगाई । ऊ फटाफट रकम लिएर आयो । तर ती तान्त्रिकले उसलाई पनि आँगनमा खुट्टा हाल्न नदिन भनेपछि उसले ल्याएको पैसा पनि छोरीले गेट बाहिरै गएर ल्याएर आई । अनी घरका सबै गहनामा मसान लागेकाले तिनलाई फुकालेर एकै ठाँउमा राख्ने भनेका थिए ।
मेरो घरभन्दा टाढा बस्नुभएकी सासुकहाँ धेरै गहना राखेको थिएँ । गहना सबै फुकाउन पर्छ भनेकाले २५ गते राति नै मगाएर राखेको थिएँ । २६ गते पूजा सुरु भयो । त्यसपछि चामल र गहनाको पोको पार्न लगाईयो । गहनामा उनेका पोतेहरु सबै चुडाल्न लगाए । गहनामा लगाइएको पोते भए मसान नभाग्ने बताएपछि सबै गहना पोतेविहीन पा¥यौं ।
पाँचवटा रुमालमा झण्डै एक÷किलोका दरले चामल हाल्दै पोको पार्न लगाए । मैले पनि भनँे अनुसार गरेँ । मैले खुट्टामा लगाएको सुनको विच्छुसमेत खोलेर गहना भएकै स्थानमा राखेँ । छोरीले लगाएको सिक्री, हिरा जडित हारहरु, सुनका चुरा, मंगलसुत्र सबै एकै ठाउँमा पोको पारी चामलमा राख्यौं । हामीलाई त्यो सबै गहना हाम्रै लकरमा राख्ने भनेपछि हामी ढुक्क थियौं ।
गहना र चामलको गाँठो पार्न भनियो । मैलै गाँठो पारे । गाँठो खुब कस्न भनेपछि मैले अह्राए झैं गरिराखेँ । अनी घरको चारै कुनामा पानी छर्कन लगाए । पूजाको विधि न हो, के के गरे के के । केही खाने कुरा पनि दिएका थिए ।
अनि पूजाकोठामा रहेको लकरमा गहनासहितको पोको राख्न लगाए । मैले पनि लकरमा राखँे । बाहिरबाट मैले चाबी लगाएँ । त्यसपछि थप साढे ७ हजार दक्षिणाको रकम दिएँ । उनीहरुले पाँच दिनसम्म कसैलाई बताउन नभनेकाले मैले पुजा गरिरहेको बेला घरमै रहेको छोरालाई समेत जानकारी दिइन । छोरो र छोरीका लागि बनाइदिएको जन्तर मात्रै बाँधे ।
पाँचौ दिन अर्थात पुस १ गते छोरी आरतीलाई नैनादेबी मन्दिरमा बोलाइएको थियो । त्यहाँ पुजा हुन्छ भनिएको थियो । मेरो एक जोर गुलाबी रङको १६ हजारको साडीलाई पनि फुकफाक गरिदिने भन्दै लगेकी थिई । पुष १ गते नै त्यो साडी नैनादेबी मन्दिरमै फिर्ता दिने भनेका थिए ।
छोरी आरती विहानै नुहाएर नैनादेबी मन्दिर पुगी । त्यहाँ कुनै पुजा थिएन । त्यहाँका पूजारीलाई मनकामना माताबारे सोधेपछि, नानी तिमी पनि ठगियौ । यहाँ त धेरै मान्छे आईसके यस्तै सोध्दै, यहाँ कोही पनि मनकामना माता बस्दैन ।
उनीहरुले ठगेको भनेर प्रहरीको दुईजना श्रमती पनि आएको पुजारीले बताएछन् । त्यसपछि छोरीले मलाई मन्दिरबाटै फोन गरी । मलाई लकर खोलेर हेर्न भनी । लकर खोलेको त गहनाको पोको भएको स्थानमा झण्डै ६ सय ग्रामको गोलो ढुंगा भेटियो । तर मैले चामल बाँधेको कपडाहरु मेरै घरको थियो । चामल पनि मैले खाने नै थियो तर गहना थिएनन् । त्यसपछि म छाँगाबाट खसेझै भएकी छु ।