
बिबिसीका अनुसार चुनावअघि विपक्षी दलमाथि मोदी आक्रामक शब्दावली प्रयोग गर्थे। छिमेकी राष्ट्र चीन र पाकिस्तानका लागि समेत उनी निकै तिखो शब्दावली प्रयोग गर्थे। चुनाव प्रचारताका उनले सत्तारुढ कंग्रेस र कंग्रेस अध्यक्ष सोनिया गान्धी तथा उपाध्यक्ष राहुल गान्धीलाई भ्रष्टाचार मुद्दामा तारो नै बनाएका थिए।
चुनावअघि कंग्रेससहित सोनिया र राहुललाई परिवारवादको आरोप लगाएर आक्रामक शब्दवाण प्रयोग गर्ने मोदी अहिले आफ्ना भाषणमा आक्रामक शब्दावली त परै जाओस् राहुल र सोनियाको नाम उच्चारण गर्नबाट समेत आफूलाई बचाउन थालेका छन्।
फेरिए प्राथमिकता
मोदी अहिले आफ्ना भाषणमा चीन र जापानको ‘विकास मोडल' उल्लेख गर्न थालेका छन्। प्रधानमन्त्री भएपछि उनले महिला सुरक्षामा ध्यान दिएको बिबिसीले उल्लेख गरेको छ। स्वतन्त्रता दिवसमा उनले गरेको सम्बोधनमा ग्रामीण क्षेत्रमा सौचालय बनाउनुपर्नेमा जोड दिएका थिए।
उनले भारतीय सहर र गाउँको सरसफाइ हुनुपर्ने कुरा पनि उठाएका छन्। चुनावी अभियानमा ‘समृद्ध भारत'बारे व्याख्यान दिएर नथाक्ने मोदी प्रधानमन्त्री भएपछि रक्षा र उत्पादनजस्ता विशेष क्षेत्रको कुरा गर्न थालेका छन्। प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले अन्तरिक्ष प्रविधिमा भारतले तीव्र विकास गर्नुपर्ने मुद्दा पनि आफ्नो प्राथमिकताको सूचीमा थपेका छन्।
‘डेभलपमेन्ट र इन्डिया'
चुनावी अभियानका बेला मोदी आफ्ना भाषणमा ‘डेभलपमेन्ट र इन्डिया'लाई निकै जोड दिन्थे। प्रधानमन्त्री भएपछि पनि उनले आफ्ना भाषणमा यी दुई शब्दको निरन्तर प्रयोग गर्न छोडेका छैनन्। मोदीको ध्यान विकासमा केन्द्रीत छ र विकासका साथै भारतलाई भ्रष्टाचारमुक्त बनाउने पनि भनिरहेका छन्।
केही विश्लेषकले मोदी आफ्नो दल भारतीय जनता पार्टीको हिन्दुवादी विचारधाराबाट अलग्गिन थालेको बताएका छन्। मोदी भ्रष्टाचारमुक्त भारत, तीव्र आर्थिक वृद्धिदर, सुदृढ राष्ट्रिय सुरक्षा र महिलाका लागि सुरक्षित भारतको कुरा गरिरहेका छन्।
चुनावी अभियानका बेला मोदीले आफ्नो विदेश नीतिबारे केही भनेनन्। चुनावताका उनले केवल चीन र पाकिस्तानको मुद्दा उठान मात्र गर्थे र छिमेकी देशबाट आइलाग्न सक्ने कुनै पनि खतराका लागि भारत तयार रहनुपर्छ मात्र भन्थे।
तर अहिले उनको रवैया फेरिएको छ। उनले आफ्नो शपथग्रहणमा दक्षिण एसियाका सबै सरकारप्रमुखलाई आमन्त्रण गरी सबै छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारको छनक दिए। त्यसपछि भने उनले पाकिस्तानसँग विदेश सचिवस्तरको वार्ता रद्द गरे। उनले गरेको भुटान र नेपाल भ्रमणलाई पाकिस्तानबाट सबैको ध्यान अन्यत्र मोड्ने कदमका रुपमा पनि विश्लेषकले व्याख्या गरेका छन््।
No comments:
Post a Comment