Showing posts with label indira joshi. Show all posts
Showing posts with label indira joshi. Show all posts

Sunday 12 January 2014

डेटिङ जानु पनि रमाइलै हुन्छ होला : गायिका इन्दिरा जोशी

नेपाली संगीतको रियालिटी शो नेपाली ताराको पहिलो संस्करणमा उत्कृष्ट गायिका भएसँगै गायन यात्रा सुरु गरेकी इन्दिरा जोशीको चर्चा आजसम्म आईपुग्दा छुट्टै उचाइमा पुगेको छ ।
http://meroknowledge.blogspot.com/
विविध विधाका गीत गायनसँगै शारिरीक सुन्दरता र प्रस्तुतिले गर्दा सधैं मिडियामा छाइरहने गायिका जोशी देश विदेशमा हुने स्टेज कार्यक्रमका लागि पहिलो रोजाइमा पर्नुहुन्छ । प्रस्तुत छ गायिका जोशीसँग उज्यालो अनलाइनका लागि मदन खनालले गरेको कुराकानी :
नयाँ एल्बम ल्याउने भनेको धेरै नै भो, तर आएन नि । निकै व्यस्त हुनुहुन्छ हो ?

हो, व्यस्त नै छु अहिले । देश विदेशमा धेरै कार्यक्रम हुन थालेका छन् हिजो आज । आयोजक तथा दर्शकले पनि विश्वास गरेकाले होला । एल्बमका सबै गीतको रेकर्डिङ तथा दुईवटा गीतको म्यूजिक भिडियो पनि तयार भैसकेको छ । व्यस्तताले रिलिज गर्न पाएकी छैन, तर चाँडै ल्याउँछु ।
तपाईं आकर्षक हुनुहुन्छ । त्यसैले पनि धेरैलाई तपाईंको विवाह र प्रेम सम्वन्ध बारेमा चासो रहेछ । तपाईंको भोगाइ र योजना बारेमा खुलेर बताइदिनुस् न ?

विवाहको लागि त समय भएको छैन । सोचेकै छैन । अहिले मैले आफूलाई करिअरमै फोकस राखेकोले प्रेम सम्वन्धमा पनि छैन । कहिलेकाहीँ लाग्छ, कसैसँगको सम्बन्धमा रहनु, डेटिङ जानु पनि रमाइलै हुन्छ होला । तर फेरि यति धेरै काम छ भन्ने सोच्छु र कामलाई नै प्राथमिकता दिन्छु । पढाइको चिन्ता छ मलाई । एमबीएस पूरा गर्न पाएकी छैन । संगीतमा धेरै गर्न बाँकी छ । हो, यो उद्योगमा आउनुभन्दा पहिला प्रेम सम्बन्ध थियो । तर उहाँ अमेरिका जानु भयो । म यतै करिअर बनाउन लागें । त्यो सम्बन्ध त्यतिमै सीमित रह्यो । त्यसपछि आजसम्म मेरो लागि त्यति महत्वमा परेन प्रेम ।
आज पनि यो क्षेत्रमा आउन चाहने विशेष त महिलालाई पारिवारिक तथा सामाजिक रुपमा धेरै गाह्रो छ भनिन्छ । तपाईं के भन्नुहुन्छ ? तपाईंको भोगाइ कस्तो रह्यो ?

हो त्यस्तो समस्या देखिन्छ र स्वाभाविक पनि हो । किनभने नेपाली म्युजिक इण्डष्ट्री सुरक्षित भैसकेको छैन । त्यसैले अभिभावकले यो क्षेत्रमा आउनेलाई सजग गराउनु नराम्रो हैन । म युवा पुस्ता हुँ । मैले चाहेको गर्न पाउँछु भन्दैमा जेपनि गर्दै हिँड्न भएन । साँच्चिकै यो क्षेत्रमा नै भविष्य देखेको हो भने परिवारलाई विश्वास दिलाउन सक्नुपर्छ । त्यसै अनुसार अनुशासित भएर काम गर्नुपर्छ ।

मेरो परिवारको पनि शुरु शुरुमा अब्जेक्शन थियो । विशेष त ड्रेसअपको विषयमा । तर परिवारको सल्लाह लिन कहिल्यै छोडिन । मेरो पेशासँग जोडिएका कुराहरु सबै बताउँदै गएपछि सबै कुरा सहज भयो । अहिले सबैजना खुशी हुनुहुन्छ ।
संगित शिक्षा र साधनाका लागि के के गनुभयो ?

धेरै नै गरें नि मेहनत त । डोरेमीमा संगित सिकें । हार्मोनियममा धेरै रियाज गरें । पछि हर्ट बे्रकर भन्ने ब्यान्डमा चारवर्ष अंग्रेजी गीतहरु गाएँ ।  अनि ट्रिजर ब्यान्डमा पनि गाएँ
हिजोआज त साधना चाहिँदैन, प्रविधिले अलि अलि आवाज र पैसा भएकोलाई सजिलै गायक बनाइदिन्छ रे नि ?

हो प्रविधिले सजिलो बनाइदिएको छ । मैले देखेको छु टुक्रा टुक्रा जोडेर, सुर नलागे पनि अटोट्युन चलाएर गीत तयार गर्ने, अनि पैसाको भरमा व्यापक प्रोमोशन गर्ने, अलिअलि चल्यो भने म हिट सिंगर भनेर हिँड्ने परिपाटी छ । तर कुनै लाइभ शो गाउनुपर्यो भने नसक्ने धेरै छन् । त्यसैले संगीतको ज्ञान त अनिवार्य चाहिन्छ । यस्तो हुँदा रियल ट्यालेन्टलाई असर पर्छ ।
गायनमा केही सफलता मिलेपछि गायकगायिकाहरुले साधनालाई बिर्सिन्छन रे हो ?

बिर्सने त होइन । तर समय व्यस्तताले नियमित गर्न पाईंदैन । तर स्टेजमा गाइरहने भएकोले आफैं साधना हुादो रैछ । मैले एकघण्टाको तानपुरा मोवाइलमा राखेकी छु । यात्रामा या बाहिर जहाँ भएपनि रियाज गर्छु । आवाजको अभ्यास निकै महत्वपूर्ण हुन्छ ।
तपाईं सानो छँदा गायन भन्दा पनि नृत्य रुचाउने मान्छे । अहिले त गायन मुख्य पेशा भो । तर नृत्यको रहर पनि पूरा गरिराख्नुभाको छ है ? अनि तपाईंलाई नेपाली शाकिरा भनेर पनि भन्छन् नि ?

अन्तर्राष्ट्रिय कलाकारको स्टेज शो हेर्नुहुन्छ भने गीत अनुसारको स्टेज बनाइएको हुन्छ । त्यही अनुसारको कोरियोग्राफी हुन्छ । हाम्रोमा त्यो सबै सम्भव नभएपनि मैले त्यो कुरालाई फलो गर्ने प्रयास गरेकी हुँ । स्टेजमा डल जस्तो उभिएर मात्र के गीत गाउनु, हैन र ? फेरि म वेली डान्सको फ्यान हुँ । म निकै प्रभावित छु वेली डान्सबाट । कोलोराडोको सेइडीको बेली डान्स यु ट्युबमा हेरेर म अनुसरण पनि गर्छु । मलाई धेरैले भन्नुहुन्छ शाकिराको बारेमा । तर भित्रैदेखि मलाई शाकिरासँग तुलना गरेको मन पर्दैन । राम्रो गायिका हो शाकिरा । तर म शाकिरा बन्ने प्रयास कहिले गरिन । मेरो आदर्श व्यक्ति पनि हैन । तर खै किन हो मलाई तुलना गरिन्छ । कतिपय ठाउँमा त मलाई बाध्य पनि बनाइएको छ । शाकिराको गीत गाउनको लागि जुन मलाई मन पर्दैन ।
नेपाली तारामा सफलता पाएपछिको साँगीतिक यात्रा कत्तिको सहज भयो ?

त्यति सुखद रहेन । तेश्रो प्रयासमा बल्ल एल्बम निकाल्न सकेँ मैले । शुरुको दुवैपटक ठगिएँ । लगानी खेर गयो । निराश पनि भएँ कुनै समय । आर्थिक रुपमा सरभाइभ हुनकै लागि कोरस गाएँ । साँगीतिक बाहेकका अन्य कार्यक्रममा उद्घोषकको रुपमा काम गरें । तर यहि क्षेत्रमै केहि गर्छु भन्ने सपना भएकोले जति ठगिएपनि यहि नै रहें । मेहनत गरें । त्यो समयमा मेरो लागि मेरो आमा मेरो शक्ति बन्नु भयो ।
फास्ट ट्रयाकका गीतमा मात्र धेरै ध्यान दिए जस्तो लाग्दैन तपाइलाईं ?

पछिल्लो समय त्यस्ता गीत धेरै गाएँ, अनि चले पनि । तर मैले सबै प्रकारका गीत गाएकी छु । यस्तो गुनासो बढेकोले आगामी एल्बममा मैले सामाजिक, देशभक्त, लोकगीत, सेन्टिमेन्टल सबै प्रकारका गीतलाई समेट्ने प्रयास गरेकी छु ।
समाजले कलाकारलाई आदर्श मान्छ । तर सामाजक कार्यतर्फ नेपाली कलाकारहरुको उपस्थिति कम देखिन्छ नि ?

अरुको त म भन्दिन, तर म सामाजिक कार्यमा सकेसम्म नजिक हुने प्रयास गरिरहेकी छु । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने रहर पनि छ । म युनिभर्सल पिस फेडेरेसनमा युथ पिस एम्बासडरको रुपमा अनुबन्धित छु । अन्य सामाजिक उद्देश्यका लागि च्यारिटी शो हरुमा निःशुल्क पनि गाईरहन्छु ।
समग्र संगीत क्षेत्रको अवस्थाको बारेमा के भन्नुहुन्छ ? समस्याहरु के देख्नुभएको छ ?

धेरै छन समस्याहरु । गीतहरु अनाधिकृत रुपमा खुल्ला प्रयोग भैरहेका छन् । रोक्ने छेक्ने कोही छैनन् । पाइरेसीको मारमा परेका छौं हामी । क्यासेट, सिडीको बिक्री नभएपनि अनलाइन मार्केटिङमा अगाडि बढ्न सकिरहेका छैनौं । तर निराश हुनुपर्ने अवस्था छैन । समग्र संगीत क्षेत्रलाई नियन्त्रण र नियमन गर्नको लागि उच्चस्तरीय वोर्डको आवश्यकता छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID