Thursday, 27 November 2014

गढीमाईमा १० हजार राँगा काटिने, मार हान्न तीन सय खटिए -

बारा : चौतर्फी विरोधका बाबजुत बाराको गढीमाई मन्दिरमा यो वर्ष १० हजार राँगा काटिने भएका छन् ।  गढीमाई मेला ब्यवस्थापन समितिले अहिले १० हजार राँगाको बलिका लागि तीन सय ५० जना मारक नियुक्त गरिएको जनाएको छ ।

भारतबाट राँगा ल्याउन सिमामा कडाई गरिएपछि बलि दिने राँगाको संख्यामा केही कम भएको ब्यवस्थापन समितिले जानकारी दिएको छ । गढीमाईमा धेरैजसो भारतबाट आउने भक्तजनले बलि चढाउने गरेका छन् । गढीमाईमा बलि चढाउन लागि राँगा र पाडा भारतबाट नलैजान भारतीय सर्वोच्च अदालतले दिएको आदेशअनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले सिमामा कडाई गरेको हो ।

सिमामा खटिएका भारतीय सुरक्षाकर्मीले राँगा र पाडा भित्र्याउन रोक लगाएपछि बलि हुने राँगाकोे संख्या केही घट्ने समितिका अध्यक्ष रामचन्द्र साहले बताएका छन् । ‘बलि दिन ल्याइएका राँगा र पाडा सिमामा रोकिएको गुनासो समितिमा आईरहेका छन्’, साहले भने ‘सिमामा रोकिएपछि भारतबाट आउने राँगाको संख्यामा यसपटक केही कमी हुन्छ ।’

भारतीय सर्बोच्च अदालतको आदेश पालना गर्नुपर्ने भएकाले राँगा र पाडा ल्याउन समितिले कसैलाई दवाव नदिने बताउँदे साहले बलि दिन जबरजस्ती नगरिएको बताए । आस्थाकै कारण बलिले निरन्तरता पाइरहेको उनको भनाइ छ ।

सिमामा रोकिने डरलो थुप्रै भक्तजनले महिना दिनअघि देखि नै नेपाल भित्राएर आफन्तको घरमा राँगा र पाडा ल्याएर राखेका जानकारी पाएको अध्यक्ष साहले बताए । ‘हामीले कसैलाई जबरजस्ती गर्न मिल्दैन्, बलि गर्नै पर्छ भनेर दवाव पनि दिएका छैनौ ’ साहले भने ‘आफ्नो भाकल पुरा गरेको भन्दै भक्तजनले देबीलाई बलि चढाउने गरेका छन् । सबैको आस्था उस्तै छ ।’\

समितिले बलि दिन बनाएको वधस्थलमा बुधवारदेखि राँगा र पाडा राख्न सुरु गरेको छ । खुल्ला बलि दिने परम्परालाई रोक्दै मेला समितिले अघिल्लो पटकदेखि मन्दिर क्षेत्रमा बधस्थल निर्माण गरेको हो । दुई विघा क्षेत्रफलमा बनाइएको वधस्थलमा बिहीबार रातिसम्म राँगा र पाडा राखिने समितिका साहले बताए ।

शुक्रवार विहान मन्दिरका मूलपूजारीले विधिपूर्वक पूजा गरेपछि मुसा, परेवा, हास, सुंगुर र राँगाको पञ्चबलि दिएपछि अन्य राँगाको बलि दिन सुरु गरिनेछ । बलिका लागि समितिले तीन सय ५० जना मारक नियुक्त गरेको छ । शारीरिक अवस्था परीक्षण गरी नागरिकता हेरेर नियक्त मारकले पञ्चबलि दिएलगत्तै बधस्थल भित्र ‘ए’, ‘बी’ र ‘सि’ तीन भागमा विभाजित राँगा र पाडाको बलि दिन थाल्नेछन् ।

राँगाको बलि दिएको भोलिपल्ट मंसिर १३ गते बोका अन्य पशुको बलि दिइने छ । मन्दिर वरपरका क्षेत्रमा बलि हुने पशुपंक्षीको यकिन तथ्यांक नआउने साहको भनाइ छ । राँगासहित करिब २० हजारको संख्यामा पशुको बलि चढ्ने अनुमान गरिएको छ ।

आस्थाका नाममा निर्दोष पशुको ज्यान नलिई मेलालाई हिंसारहित बनाउन आग्रह गर्दै पशुअधिकारवादी संस्थाका प्रतिनिधिले मन्दिरक्षेत्रमा अभियान चलाइरहेका छन् । दैनिक हजारौको संख्यामा आउने भक्तजनलाई पर्चा दिँदै उनीहरुले बलि नदिन आग्रह गरेका छन् । आस्था राख्ने भक्तजनबीचमा पशुअधिकारबादीको अभियान चलिरहेपनि ब्यवस्थापन समितिले कसैको बिरोध नगरेको सचिव मोतिलाल कुशवाहाले बताए ।

‘हामीले बलिलाई ब्यवस्थित बनाउने तयारी गरिरहेका छौं । बलि रोक्न माग गर्नेलाई अवरोध गरेका छैनौँ’। सचिव कुशवाहाले भने ‘आस्था र अधिकारका कुरा छन्, हामीले कसैलाई रोक्न मिल्दैन्’ ।
बलिको अलावा मन्दिरको दर्शन र पूजा गर्नमात्रै दैनिक हजारौको संख्यामा दर्शनार्थीको भिड लाग्ने गरेको छ ।

मंसिर १ गते सुरु भएको मेलामा हालसम्म पाँच लाख बढी दर्शनार्थीले दर्शन र पूजा गरेको सचिव कुशवाहाले जानकारी दिए । मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
मेला ब्यवस्थित बनाउन स्वयम्सेवकका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले एक हजार तीन सयको हाराहारीमा प्रहरी खटाइएको जानकारी दिए ।

मन्दिरमा आउने भक्तजनलाई लाईनमा राखेर छिटोे दर्शन गराउन प्रहरीले सहयोग गरिरहेका छन् भने केही प्रहरीले मन्दिर क्षेत्रमा सुरक्षा दिइरहेको रेग्मीले बताए ।
बलि सुरु भएपछि मेलामा भक्तजनको संख्याको दोब्बर बढ्ने भएकाले सुरक्षाब्यवस्था कडा पारिएको रेग्मीको भनाइ छ । रेग्मीका अनुसार मेलामा झगडा, लुटपाट र यौन दुब्र्यवहारजस्ता घटना हुन नदिन प्रहरीले निगरानी बढाउने छ ।

मेला समितिले गढीमाई मन्दिर वरपर सयाँैको संख्यामा राखिएको स्टलमा मदिरा र मासु बेच्न रोक लगाएको छ ।  दर्शनार्थीका लागि समितिले खानेपानी र विद्युत्तको ब्यवस्था भएको ठुला पण्डाल बनाएको छ । दशौं हजार दर्शनार्थीले पण्डालमा निशुःल्क खान र बस्ने सक्ने समितिको भनाइ छ ।

विश्वप्रसिद्ध गढीमाई मेलालाई बाराबासीले पर्वकै रुपमा मनाउने गरेका छन् । एक महिनासम्म चल्ने गढीमाई मेला आफन्त भेटघाट समेत गराउने बरियारपुरका सन्तोष गुप्ताले बताए । बरियारपुरमै मन्दिर भएकाले पनि यसक्षेत्रका बासिन्दा उत्साहित भएको गुप्ताको भनाइ छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID