कात्तिक ११, काठमाडौं – अबदेखि कृषि व्यवसायमा संलग्न कृषक तथा व्यवसायीले ६ % भन्दा कम ब्याजमै ऋण पाउने भएका छन् । सरकारले चालू वर्षको वजेटमा सरल र सस्तो कृषि ऋण उपलब्ध गराउने प्रतिवद्दतालाई सार्थक बनाउँदै कार्यविधि जारी गरेपछि कृषकले सस्तो ऋण लिन बाटो खुलेको हो ।राष्ट्र बैंकले सोमबार ‘युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि ०७१’ जारी गरी ६ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कार्यविधिमा २१ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई युवा मान्दै प्राकृतिक व्यक्ति,त्यस्ता ब्यक्तिबाट सञ्चालित फर्म,कम्पनी र संस्थाले सञ्चालन गर्ने कृषि व्यवसायका लागि अधिकतम् १ करोड रुपैयाँसम्म ऋण दिन सक्ने व्यवस्था गरेको हो ।
कार्यविधिले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका सबै क्षेत्रलाई ग्रामिण क्षेत्रका रुपमा परिभाषित गर्दै ती क्षेत्रमा बैंकले १० प्रतिशत भन्दा कम व्याजदरमा ऋण दिई कृषकबाट ६ प्रतिशत ब्याज लिन र बाँकी ४ प्रतिशत ब्याज अनुदानका रुपमा सरकारले खोलेकमो कृषि कर्जा ब्याज अनुदान शोधभर्ना खाताबाट दिने व्यवस्था मिलाइएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
बैंकले विउविजन, अलैंची, उखु, अदुवा, च्याउ, जडिबुटी, र तरकारी खेतीको उत्पादन प्रशोधन र भण्डारका साथै पुष्प व्यवसाय र पशुपन्छी पालनलाई यस्तो ऋण दिनेछ । फलफुल उत्पादन,उत्पादित फलफुलको प्रशोधन तथा भण्डारण,दुग्ध उत्पादन ,प्रशोधन तथा वितरणका लागि पनि ६ प्रतिशत भन्दा कममै ऋण उपलव्ध गराउने जनाएको छ । मत्स्यपालन, उत्पादित माछाको भण्डारण तथा बिक्री–वितरण, पशुबधशाला एवं मासुजन्य उत्पादन व्यवसायका साथै सरकारले समयसमयमा थप गर्ने अन्य कृषि व्यवसायमा पनि यस्तो ऋण उपलब्ध गराउने छ ।
No comments:
Post a Comment