Wednesday 15 January 2014

प्रचण्डले भने- अब लाजिम्पाट छाड्छु, छोरो पार्टीलाई जिम्मा लाउँछु

आफ्नै निवासबाट शुद्धीकरण सुरु गर्ने प्रतिवद्धता

गम्मीर आत्मालोचना गरेका एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफूले व्यवहारमै रुपान्तरण गरेर देखाउने प्रतिवद्धता जनाएका छन् । प्रचण्डले तत्कालै लाजिम्पाटको घर छाड्ने र निजी सचिवालयसमेत फेर्ने प्रतिवद्धता जनाएका छन् ।
चुनावी हारको समीक्षाका क्रममा प्रचण्डले वर्ग धरातल खस्किएको स्वीकार गर्दै आफैंबाट रुपान्तरण गर्ने बताएका हुन् । ‘अब दस्तावेजमा लेखेर मात्रै कसैले पत्याउने अवस्था रहेन, व्यवहारमै रुपान्तरण गरेर देखाउँछु भन्नुभएको छ’ प्रचण्डनिकट एक नेताले अनलाइनखबरसँग भने ।
पूर्वपोलिटब्यूरो सदस्यहरुसँगको छलफलमा प्रचण्डले लाजिम्पाटको भवन छाड्ने, सचिवालय व्यवस्थित गर्ने र छोरा प्रकाशलाई पार्टीको जिम्मा लगाउने प्रतिवद्धता जनाएका छन् । यद्यपि राजनीतिक प्रतिवेदनमा भने प्रचण्डले पारिवारिक विषयमा केही पनि नबोली नेतृत्वबाट रुपान्तरणको सुरुवात गर्ने मात्र लेखेका छन् ।
माओवादीका नेता कार्यकर्ताले नै प्रचण्डको जीवनशैली, सचिवालय र छोराको भूमिकाबारे प्रश्न उठाउँदै आएका थिए । प्रचण्डकी अघोषित बुहारी वीना मगरलाई टिकट दिएको विषयमा धेरै मतदाताले प्रश्न उठाएको भन्दै उम्मेदवारहरुले हारको कारण त्यसलाई समेत मानेका थिए । पूर्वपोलिटव्यूरो सदस्य गोपाल किरातीले अनलाइनखबरमार्फत प्रचण्डलाई पत्नी सीता र छोरा प्रकाशलाई चितवन पठाउन सुझाव दिएका थिए ।
प्रचण्डको प्रतिवेदनमा परिवारबारे के प्रस्ताव छ भन्ने प्रश्नमा माओवादी पूर्वपोलिटब्यूरो सदस्य किरातीले भने-’रुपान्तरणबारे राम्रो प्रस्ताव आएको छ । अरु थप मैले भन्न मिल्दैन ।’
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले सानेपास्थित डा. बाबुराम भट्टराई निवासमा आयोजित छलफलमा लाजीम्पाट छाड्ने प्रतिवद्धता जनाएका हुन् । सो छलफलमा कार्यालयका चार नेताका साथै वर्षमान पुन, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेललगायतका युवापुस्ताका नेताहरुको समेत सहभागिता थियो ।
एमाओवादीको केन्द्रीय समितिको पूर्णबैठक विहीबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । सो बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । बैठकको पूर्वसन्ध्यामा बुधबार पूर्वपोलिटब्यूरो सदस्यहरु पेरिसडाँडामा भेला भएका थिए । बुधबार पूर्वपोलिटब्यूरो सदस्यले दस्तावेजमा छलफल गर्ने बताइए पनि केन्द्रीय समितिमै बहस गर्ने भन्दै औपचारिक छलफल नभएको एक पूर्वपोलिटब्यूरो सदस्यल अनलाइखबरलाई बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID