Saturday 21 September 2013

खाने हो पाँच लाख तलबको सुत्ने जागिर ? यहाँ फाराम भरिहाल्नुस्

जागिरमा त काम पो गर्नुपर्छ । काम गर्ने ठाउँमा वा कार्यालयमा गएर सुत्न कहाँ पाइन्छ र । तर केही जागिर यस्ता पनि हुँदा रैछन् जसमा काम नै सुत्ने हुँदोरहेछ । कामै गर्न नपर्ने र सुतिदिए हुने त्यस्तो जाबो जागिरको तलब कति होला ? बेतलबी होला नी । भन्ने तपाइँको सहज अनुमान हुनसक्छ । तर होइन यो सुत्ने जागिर खाने मान्छेले महिनामा झण्डै पाँच लाख रुपैयाँ तलब पाउँछ ।

नेपालमा जाबो १०।१५ हजार तलब हुने कठीन कामको जागिरका लागि त हजारौँ मानिस आकांक्षी हुन्छन् भने यो सुत्ने जागिरको विज्ञापन खुलेको थाहा पाउने हो भने त सबै सहर दरखास्त संकलन केन्द्रमा घोप्टिएर आउँछ होला । तर यस्तो सुत्ने जागिर हाम्रो देशमा भने खुलेको होइन । अमेरिकी अन्तरीक्ष संस्था नासाले यो ७० दिने सुत्ने जागिर खुलाएको हो ।

यो जागिरमा छनोट हुनेले केवल सुतिदिए पुग्नेछ । उनीहरुले खुसीसाथ सुतेर तथा सोफामा पल्टिएर टेलिभिजन हेर्दै वा कम्प्युटर चलाउँदै दिन कटाउन सक्नेछन् ।

हो, नासाले एक परीक्षणका लागि केही स्वयंसेवीहरुलाई भाडामा लिँदैछ । ती जागिरे स्वयंसेवीहरु ७० दिनसम्म सुतिदिए पुग्नेछ । ती मानिसमा सुक्ष्म गुरुत्वबलको मानव सरीरमा पर्ने असरको अध्ययन गरिनेछ ।

यो अध्ययन सुरु हुनै लागेको छ । नासाले यसरी भाडामा लिने जागिरेहरुले मासिक ५ हजार अमेरिकी डलर वा पाँच लाख रुपैयाँ भन्दा बढि तलब पाउनेछन् ।

छनोट भएकाहरुलाई हस्टनको जोनसन स्पेस सेन्टरमा दुइ हप्ता राखिनेछ । त्यहाँ उनीहरुले सधैजस्तै सामान्य दैनिकी जिउनेछन् र उनीहरुको सरीरको सामान्य स्थितिको वैज्ञानिकहरुले अनुगमन गर्नेछन् । त्यसपछि उनीहरुलाई एक ढल्किएको विछौना सहितको विशेष कोठामा राखिनेछ जहाँ दिनको १६ घण्टा प्रकाश हुनेछ भने बाँकी ८ घण्टा अँध्यारो । त्यहाँ सबैखाले सुविधा, खानपान तथा नुहाइ धुवाइको सुविधा पनि दिइनेछ । त्यहाँ विशेष प्रकारको व्यायाम समेत गराइनेछ र समग्रमा मानिसको सरीरका हड्डी, मांशपेशी, रक्तसंचार, पोषण तथा रोग प्रतिरोधी क्षमता लगायतका विषयमा आउने परिवर्तन समेतको सुक्ष्म अध्ययन गरिनेछ । ७० दिनको उक्त परीक्षणपछि जागिरेहरुलाई उक्त कोठाबाट निकालिनेछ र १४ दिनको थप पुनस्र्थापना तालिम दिएर घर पठाइनेछ । घर जाने बेलामा उनीहरुलाई सबै तलब भुक्तान गरिनेछ ।

यस्तो सुत्ने जागिर खाने इच्छा छ ? त्यसो भए यहाँ क्लिक गरेर आवेदन फाराम भरिहाल्नुस् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID