Sunday 17 March 2013

रुखबाट पानी चुहिन थाल्यो, हेर्नेको घुइँचो

सुनसरी जिल्लाको सोनापुर–४ छातावेलीमा एउटा रुखबाट पानी निस्कन थालेपछि त्यो  रुख हेर्न अहिले सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।

थारु आदिवासीको  बस्तीमा गएको शिवरात्रिका दिनदेखि रुखबाट पानी निस्कन  थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
बाटोको छेउमा रोपिएको काप्रो (स्थानीय भाषामा काब्रा) जातको रुखबाट राति १२ बजेदेखि बिहान ८ बजेसम्म पानी चुहिने गरेको संरक्षणकर्ता शिवनरायण चौधरीले बताए । शिवरात्रिका दिन बिहान रुखमा गाई बाँध्न जाँदा रुखको फेदबाट तपतप पानी चुहिरहेको देखेपछि शिवनारायणले गाउँलेलाई डाकेर जानकारी गराएका थिए ।

गाउँलेहरू भेला हुँदाहुँदै ८ बजिसकेकाले पानी रोकिएको थियो । गाउँलेले पहिले सो कुरा नपत्याएको चौधरीले बताए । अर्को दिन पुनः सोही स्थानबाट पानी चुहिन थालेपछि गाउँलेसमेत छक्क परेका थिए ।

गाउँलेले यो अनौठो कुरा थाहा पाएपछि सो स्थानमा घेराबेरा गरी दिनहुँ पूजापाठ गर्न थालिएको छ । शिवनारायणको नातिनीको दुखिरहेको कानमा सो पानी हालेपछि केहीबेरमा नै कान ठीक भएको उनले बताए । त्यस्तै घुँडा दुखेको र पेटको समस्यामा समेत सो पानी सेवन गर्दा केहीबेरमा नै बिसेक भएपछि स्थानीयवासी चकित परेका छन् । पानी अत्यन्त चिसो र चाख्दा टर्रो लाग्ने स्थानीयवासीले बताएका छन् ।

दैवी चमत्कार भन्दै त्यस आसपासका मानिस बिहानै दर्शन गर्न आउन थालेको स्थानीय सामाजिक कार्यकर्ता तथा नेपाली काँग्रेस खनार गाउँ कमिटीका अध्यक्ष श्याम आचार्यले बताए ।

यसैबीच रुख तथा अन्य बोटविरुवाबाट पानी आउनु समान्य कारणमात्र भएको वनस्पतिशास्त्री सुरेन्द्र यादवले बताएका छन् । यादवले रुखले (ट्रस्पेसन) बढी पानी फ्याक्ने वास्पीकरण गरेको हुनसक्ने बताए । रुखले जराबाट लिएको पानीमध्ये बढी भएको पानी पातबाट फ्याक्ने गरेको उनको भनाइ रहेको छ ।

कुनै रुखले एकै स्थानबाटसमेत पानीको वास्पीकरण गर्नसक्ने सम्भावना रहेको यादवको भनाइ छ । दैवीशक्तिको अस्तित्वलाई पूरै अस्वीकार गर्न नसकिने भएकाले सुनसरीको सोनापुरमा भएको सो घटनाबारे वैज्ञानिक परीक्षण गरे राम्रो हुने यादवले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID