Saturday, 26 January 2013

स्वस्थानी कथामा महिलालाई हेप्ने कुरा

१३ माघ, काठमाडौं । महिला हिंसाविरुद्ध अधिकारकर्मीले बालुवाटार तताइरहेका बेला आजदेखि हिन्दूहरुका घरमा श्रीस्वस्थानी व्रतकथा शुरु भएको छ । आजदेखि शुरु भएको स्वस्थानी व्रतकथा एक महिनासम्म चल्छ । यस अवसरमा काठमाडौंको शाली नदीमा विशेष मेलासमेत लाग्छ ।

एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । यस अविधमा स्वस्थानीको कथा भन्ने, सुन्ने र महादेवको व्रत गर्ने काम गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत आरम्भ गरिएको धार्मिक विश्वास छ ।

उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसँग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । तर, स्वस्थानी कथामा भएका कतिपय विषय अमिल्दा, असान्दर्भिक एवं महिलामाथि विभेद निम्त्याउनेखालका छन् । स्वस्थानीमा भएका कतिपय असान्दर्भिक विषयबारे महिला अधिकारकर्मीहरुबाटै चर्चा र आलोचनासमेत हुने गरेको छ ।

स्वस्थानी कथामा यस्तो पनि भेटिन्छ

· दक्षप्रजापतिकी पन्ती विरणीले तेत्तीस करोड छोरी जन्माएको भन्ने कुरा उल्लेख छ । एउटी नारीले यति धेरै सन्तान जन्माउन सक्छिन् ?

· मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा स्वस्थानीमा उल्लेख छ । यसरी मान्छे जन्मने भए निःसन्तान दम्पत्तिले मयल र गोबर कति खेलाउँथे होला ?

· अग्निले ओकलेको शिवजीको वीर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरुको गर्भ रहृयो रे । वीर्य बलेको र तापेको तपार्इ हामीले देखेका छौं त ?

· शिवजीले आफ्नै पुत्र गणेशको टाउको छिनाएका, पछि पार्वतीले बिलौना गरेपछि हात्तीको टाउको जोडेर जीवित तुल्याएका । महाकाली र वीरभद्रले दक्षप्रजापतिको टाउको काटेर होम गरेको, पछि विरणीको आग्रहमा बोकाको शीर जोडी दक्षलाई बिउँत्याएको कुरा कतिसम्म साँचो होला ? चिकित्सा विज्ञानमा बल्लतल्ल अंगप्रत्यारोपण सफल हुन थालेको बेला ऊबेलाको युगमा यस्तो हुन्थ्यो भन्ने रमाइलो कथा मात्रै हो । अझ उदेकलाग्दो कुरा त हात्तीको टाउको जोडेर पुत्र गणेशलाई बचाउन सक्ने महादेवले सतीदेवीलाई चाहिँ किन बचाउन सकेनन् र कुहिएको अंग बोक्दै बौलाएर हिँडेछन् कुन्नि ?

· पार्वतीले महादेव स्वामी पाउँ भनेर निराहार तपस्या गरेकै कारण उनको मनोकांक्षा पूर्ण भएको कुरा स्वस्थानीमा उल्लेख छ । यही भएर अविवाहित महिलाहरु महादेवजस्तो पति पाउँ भनी स्वस्थानी व्रत बस्छन् । विवाह भएकाहरु आफ्नो पति महादेवजस्तो होस् भन्छन् । तर, महादेव कतिसम्म गँजडी थिए भन्ने कुराचाहिँ महिलाहरुलाई हेक्का छैन । महिलाहरुले यस्तो तपस्या गरेकैले धेरैका श्रीमान जँड्या र गँजडी भएका होलान् त ? अनि बालुवामा शिवलिंग बनाएर कतिले रोजे र खोजेजस्तो श्रीमान पाए कुन्नि ? शिवलिंगको पूजा गरेकै भरमा ठिटा मिल्ने भए लभको चक्कर किन गर्नुपथ्र्यो ? लमी, पुरोहित किन चाहिन्थे ?

· स्वस्थानीमा भनिएको छ, नवराजकी आमालाई स्वस्थानी पढेकै कारण फल प्राप्त भयो । त्यही कारणले नवराज राजा भए । सबै कुरा राम्रो भयो । स्वस्थानीमा उल्लेख यी नवराजकी आमाले चाहिं कुनचाहिं स्वस्थानी पढिन् ? उनले पढेको स्वस्थानीमा पनि यसैगरी नवराजकी आमाले स्वस्थानी पढेको भन्ने कुरा थियो कि ?

· मधुकैटबको बोसो पानीमा जमेर पृथ्वी, मासुले पर्वत अनि हाडले ढुंगा बनेको कुरा स्वस्थानीमा उल्लेख छ । तर, सूर्यबाट टुक्रिएको चोइटा कालान्तरमा सेलाएपछि पृथ्वी बनेको होइन र ?

· कथामा पार्वतीको त्याग समेटिए पनि स्वस्थानी कथामा महिलालाई पुरुषको भोग्यवस्तुको रुपमा मात्रै लिइएको छ, कतै सम्मान गरिएको छैन । सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितछोरालाई दिनु, मितछोरा नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाइदिनु भन्ने स्वस्थानीमा उल्लेख छ । खोलामा बगाउनुको सट्टा छोरी भए छोरीलाई दिनु चाहिँ किन नलेखिएको होला ? यस्तै पतिलाई रीस गर्ने स्त्री डेरी हुन्छे, पतिको वचन नमाने पापी हुन्छे, पतिसित मुख लागे वा गाली गरे लाटी हुन्छे, लुकाई खाए कुकुर्नी हुन्छे भनिएको छ । स्वस्थानीमा पुरुष देवताहरुलाई चाहिँ सकेसम्म धेरै स्त्री भोग गर्न सक्ने पुरुषार्थीको रुपमा व्याख्या गरिएको छ । अहिलेजस्तो ऊबेला महिला अधिकारकर्मी भएका भए कति जुलुस निकाल्थे होला ?

आधुनिक स्वस्थानी कथा

सामाजिक सञ्जालको प्रयोग बढ्न थालेपछि रीतिरिवाज र चाडपर्वका विषयलाई राजनीतिसँग दाँजेर छेड हान्ने चलन बसेको छ । दशैंमा टीका लगाउँदा दिइने आशीष र तिहारमा भट्याउने देउसीभैलोमा जस्तै स्वस्थानीमा पनि राजनीतिक व्यंग्य हान्ने जमात बढ्दो छ । अहिले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई व्यंग्य गर्दै लेखिएका यस्ता टिप्पणी भेट्न सकिन्छ :

‘कुमारजी आज्ञा गर्नुहुन्छ, ए अगस्त्यमुनि । यी बाबुराम कस्ता भने सबैभन्दा धेरै मन्त्रीहरुले घेरिएका, जनताको लागि बिप्पाको जुवा खेल्न सक्ने, आर्थिक क्रान्तिको माला पहिरिएका, भ्रष्टाचारीलाई तकिया बनाई सुत्ने, जसलाई वैद्यको ओखति चाहिएन, प्रचण्ड घाममा चम्किएका यिनीलाई बादलले छेक्न सकेन, १५ हजारको बलिदानले निथु्रक्क भिजेका यिनीलाई प्रतिपक्षको ढुंगाको बाणले के छुन सक्थ्यो र ? एकदम सादा जीवन उच्च विचार महापुरुष १५ लाखको मुस्ताङ चढेर २७ लाखको चियापान गराउने भया……

यी महापुरुषको व्याख्या गर्न १० जिब्रा भएका पुष्पकमलले त सक्दैनन् भने म के सकुँला । इतिश्री बाउराम पुराने, कलियुग सम्बत्, नेपाल खंडे, ४९ औं अध्याय ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID