Saturday 22 December 2012

सर्बदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

७ पुस, काठमाडौं । पाँचौ पटक दिएको समयमा पनि प्रमुख दलहरुबीच सहमतिको सरकार गठनबारे सहमति जुट्न नसकेपछि राष्ट्रपति डा. राववरण यादवले सर्बदलीय बैठक बोलाउने तयारी गर्नु भएको छ ।

पछिल्लो पटक थपिएको ५ दिनको म्याद शनिबार सकिएको छ । चार पटक गरेर दिएको २५ दिनमा पनि दलहरुबीच सहमति नजुटेपछि राष्ट्रपतिले पछिल्लो पटक पुस ४ गते ५ दिनको समय दिनु भएको थियो ।

राष्ट्रपति यादवले सोमबार भारत भ्रमणमा जानु अघि नै सर्बदलीय बैठक बोलाउन सक्ने शितल निवासका अधिकारीहरुले बताएका छन् । ‘अब सर्बदलीय बैठक बोलाउनुको विकल्प छैन’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अनलाइनखबरसँग भन्नुभयो । दलहरुसँग भएको छलफलमा पनि राष्ट्रपतिले चार दलबीच सहमति नभए चार दलको घोडा तोडेर सर्वदलीय बैठक बोलाउने बताउनु भएको थियो ।

भारत भ्रमण रोकिन्न

दलहरुले राजनीतिक निकास नदिई भारत नजान आग्रह गरेपछि राष्ट्रपतिले भ्रमण स्थगित नगर्ने हुनु भएको छ । ‘संक्रमणकाल ६ वर्षदेखि चलिरहेछ । दलहरुबीच सहमति नभएकै कारणले भ्रमण रोक्नेबारे राष्ट्रपतिले सोच्नु भएको छैन’ सल्लाहकार दाहालले भन्नुभयो-’भ्रमण रोकिन्न ।’ प्रमुख दलहरुले भने सरकार गठन नगरी भारत जाँदा गलत सन्देश जाने भन्दै भ्रमण रोक्न आग्रह गर्दै आएका छन् ।

के–के गर्नेछन् भारतमा

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति यादव पुस १० गते बनारस हिन्दु विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति मुखर्जीका साथ अतिथिका रुपमा सहभागी हुनुहुनेछ । बनारस हिन्दु विश्वविद्यालका संरक्षक एवम् शिक्षाविद् पण्डित मदन मोहन मालाभियाको १५० औँ जन्मजयन्तीका अवसरमा आयोजित दीक्षान्त कार्यक्रममा राष्ट्रपति डा यादवले मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्नुहुनेछ ।

पुस ११ गते राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री डा मनमोहन सिंहसँग पनि भेटवार्ता गर्नुहुनेछ ।प्रधानमन्त्री सिंहले आयोजना गर्नुहुने रात्रिभोजमा पनि उहाँ सरिक हुनुहुनेछ । राष्ट्रपति डा यादवले भारतीय उपराष्ट्रपति, वरिष्ठ मन्त्रीहरु, युनाइटेड प्रोगेसिभ एलाइन्सका अध्यक्ष, विपक्षी दलका नेता तथा पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति डा यादवले मध्यदिल्लीस्थित अल इन्डिया इन्स्िटचयूट अफ मेडिकल साइन्समा नियमित स्वास्थ्य परीक्षण गराउनु हुनेछ । साथै नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजना हुने समारोहमा राष्ट्रपति सहभागी हुनुहुनेछ । - OnlineKhabar

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID